संविधान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम

नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात् गरेको छ।

फाइल तस्वीर: टुँडिखेलमा संविधान दिवस मनाइँदै।

काठमाडौँ– संविधान दिवस बिहीबार स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ। 

संविधानसभाबाट संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रूपमा मनाइन्छ ।

दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा बिहान विशेष समारोह आयोजना गरिएको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी हुँदै छन्।

साँझ राष्ट्रपति पौडेलले राप भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम निर्धारण भएको छ। संविधान दिवसका उपलक्ष्यमा संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी संघ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरिनेछ। विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम हुनेछन्।

नेपाली जनताको सातदशक लामो संघर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो। 

३५ भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात् गरेको छ। संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ।

संविधान दिवसकै अवसरमा काठमाडौँको दरबारमार्गमा नागरिक स्तरबाट राष्ट्रिय दिवस सांगीतिक प्रस्तुति हुनेछ। सरकारले संविधान दिवसका अवसरमा दीपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन सबैमा आह्वानसमेत गरेको छ।