प्राचीन सभ्यताको झल्को दिने ‘जोङ’ गुफा

भुइँसहित ६ तला रहेको यस गुफामा करिब ५० वटा कोठा छन्। हरेक तलाको बीच भागमा बाटो र दायाँबायाँ कोठा छन्। एउटा तलादेखि अर्को तलामा उक्लिनेसमेत भर्‍याङ छ।

म्याग्दी– वरिपरि नांगो र सुख्खा पहाड, पहाडको भित्तामा प्वालहरू। फेदीको प्वालबाट छिरेपछि तला चढ्दै पहाडको टुप्पोमा पुगिने। तलापिच्छे धुवाँले कालो भएका कोठा। कोठामा बत्ती बाल्ने, सामग्री भण्डारण गर्ने ठाउँ तथा विभिन्न कलाकृति। यहाँ आउँदा जोकोही मोहित हुन्छन्। 

अनौठो तर आकर्षक यो, मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ मा रहेको ‘जोङ’ गुफा हो।  लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङका अनुसार परापूर्वकालमा यहाँ मानवबस्ती थियो, त्यसैले प्राचीन मानव सभ्यता झल्काउने संकेत अहिले पनि देख्न सकिन्छ। उनी भन्छन्, “प्राचीन मानव सभ्यताको झल्को दिने यो गुफा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ।”

समुन्द्र सतहदेखि तीन हजार ७८५ मिटर उचाइमा अवस्थित गुफालाई स्थानीयले ‘सिजा जोङ’ भन्छन्। भुइँसहित ६ तला रहेको यस गुफामा करिब ५० वटा कोठा छन्। 

हरेक तलाको बीच भागमा बाटो र दायाँबायाँ कोठा छन्। एउटा तलादेखि अर्को तलामा उक्लिने भर्‍याङ छ। गुफाका हेरालु छिरिङ गुरुङले पर्यटकीय याममा दैनिक ५० जनाभन्दा बढीले गुफा अवलोकन गर्ने गरेको बताए। असोज, कात्तिक, चैत, वैशाख र जेठ महिनामा यहाँ पर्यटकको चहलपहल हुन्छ। “यो गुफामा कहिले मानिस बसे भन्ने आधिकारिक तथ्य र प्रमाण हामीसँग छैन,” उनले भने, “परापूर्वकालमा दुस्मनबाट बच्नका लागि पनि एकैठाउँमा गाउँभरिका सबै परिवार बस्नका लागि यो गुफा प्रयोग गरेको बाबु बाजेले सुनाउनुहुन्थ्यो।”

किंवदन्तीअनुसार परापूर्वकालमा तिब्बती समूहले छोसेरमा आक्रमण गर्दा त्यहाँका बासिन्दा गुफामा गएर लुकेर बसेका थिए। आक्रमणकारीले पानीको मुहान थुनिदिए छन् तर गाउँलेले विवेक प्रयोग गरी सो समूहलाई त्यहाँबाट लखेटे। त्यसको प्रतिकारमा आतंककारीले गुफामा तेल पोखिदिएका थिए। त्यसकारण अचेल पनि गुफाभित्रको भागमा तेल पोखिएजस्तो देखिन्छ।

गाउँलेले आतंककारी समूहलाई भगाएपछि त्यसको सुरक्षाका लागि चट्टानमा ससाना गुफा बनाइ त्यसैमा लुकेर सुरक्षा दिन थालेका र त्यसको अवशेष अहिलेसम्म पनि रहेको भन्ने गरिएको स्थानीय सोनु टसीले बताए। मुस्ताङमा रहेका अन्य गुफाभन्दा सिंजा जोङ ठूलो र फरक पहिचान भएको गुफा मानिने गरेको उनको भनाइ छ। 

यहाँस्थित व्यवस्थापन समितिले गुफासहित निफु र गर्फु गुम्बा अवलोकनका लागि विदेशी पर्यटकसँग एक हजार तथा स्वदेशी पर्यटकसँग १०० रुपैयाँ शुल्क लिने गरेको छ। गुफामा रहेका सामग्रीलाई संरक्षण गरेर राखिएका छन्। 

तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलैगौडाबाट आएका सन्देश भट्टराईले गुफा ऐतिहासिक महत्वको रहेको बताए। “बाहिरबाट हेर्दा सामान्य लागे पनि भित्र पस्दा अनौठो र आश्चर्य लाग्यो,” उनले भने, “परापूर्वकालमा मानिसको बसाइँ कस्तो थियो भन्ने झल्को यो गुफाले दिन्छ।”

लोमान्थाङ गाउँपालिकाले यहाँ आउने पर्यटकको सहजताका लागि अत्यावश्यक पूर्वाधार बनाएको छ। गुफा परिसरमा सार्वजनिक शौचालय र प्रतीक्षालय भवन निर्माण गरेको अध्यक्ष गुरुङले बताए। “जोङ गुफाको संरक्षण र आम्दानीलाई व्यवस्थित गरी सोही ठाउँको प्रवर्द्धनमा परिचालन गर्न स्थानीयसँग छलफल भए पनि निष्कर्षमा पुग्न सकिएको छैन,” उनले भने “जमिनदेखि पहाडको भित्तामा रहेका गुफामा पुग्ने पक्की र तला उक्लने काठको भर्‍याङ पनि गाउँपालिकाले नै बनाएको छ।” 

बेनी–जोमसोम–कोरला सडकको लोमान्थाङ नेचुङ खण्डदेखि गुफासम्म गाडीमा पुग्न सकिन्छ। चीन र नेपालको सिमानामा रहेको कोराला नाका जाने अधिकांश पर्यटकले यो गुफा अवलोकन गर्ने गरेका छन्।