भूकम्पले भत्किएको धरहरा पुनर्निर्माण गरी नौ वर्षपछि खुला हुँदा पहिलो दिनमा सर्वसाधारणको भीड लागेको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ।
काठमाडौँ– बिहीबारदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ। शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर बिहीबारदेखि निःशुल्क रूपमा खुला गरिएपछि चढ्न आउनेको भीड लागेको हो।
विसं २०७२ सालको भूकम्पले भत्किएको धरहरा पुनर्निर्माण गरी नौ वर्षपछि खुला हुँदा पहिलो दिनमा सर्वसाधारणको भीड लागेको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ। गत साता मन्त्रिपरिषद्को बैठकले संविधान दिवसको अवसर पारेर बिहीबारदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो।
शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले प्रत्येक दिन ६ सयका लागि निःशुल्क धरहरा चढ्ने व्यवस्था गरिए पनि पहिलो दिनको मध्यान्हमै दुई हजार पाँच सयले धरहरा चढिसकेको जानकारी दिए।

“अहिले एकैपटकमा करिब एक हजारले अवलोकन गरिरहनुभएको छ,” उनले भने, “लाइन लामो छ, दैनिक जम्मा छ सयका लागि खुलाउने भनेका थियौँ। भीड बाक्लो भयो। तसर्थ तोकिएभन्दा बढीले धरहरा चढिसकेका छन्। अब ३ः३० बजेसम्म भित्र छिर्न दिइन्छ, ४ः३० बजे बन्द हुन्छ।”
उनले तत्कालका लागि धरहरा चढ्न निःशुल्क व्यवस्था मिलाइएको र यो अस्थायी व्यवस्था मात्रै रहेको बताए। शुल्कको विषय टुंगो लाग्न बाँकी रहेको र छिट्टै टुंगो लाग्ने उनको भनाइ छ।
शहरी विकास मन्त्रालयले धरहरा निर्माण गर्न जीआईटीसी रमन कन्स्ट्रक्सन जोइन्ट भेन्चर कम्पनीलाई ठेक्का दिएको थियो। विसं २०७२ फागुन ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा “मेरो धरहरा, मै बनाउँछु” भन्ने अभियान शुरू गरिएको थियो। विसं २०७५ असोज १४ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट धरहरा पुनर्निर्माण शुरू गरिएको थियो। विसं २०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका थिए।

धरहरा चढ्नका लागि बुकिङ गर्न केन्द्रीय आयोजना कार्यान्वयन एकाइले ‘धरहरा डट कम डट जीओभी डट एनपी’ नामक वेबसाइट सञ्चालन गरेको छ। एकाइका अनुसार वेबसाइटमार्फत पनि बुकिङ गर्न सकिनेछ।
धरहराको इतिहास
विसं १८८२ मा महारानी ललित त्रिपुरासुन्दरीको आदेशमा जनरल भीमसेन थापाद्वारा ६१.८८ मिटर अग्लो ११ तल्ले धरहरा निर्माण गरिएको थियो। विसं १९१३ मा धरहरा चट्याङ परी भत्कियो। विसं १९२३ मा धरहराको जीर्णोद्धार गरिएको थियो।

विसं १९९० माघ २ मा महाभूकम्पमा परी धरहरा पुनः भत्किएको थियो। विसं १९९२ मा तत्कालीन राणा प्रधानमन्त्री जुद्धशम्सेर राणाद्वारा पुनर्निर्माण गरिएपछि धरहरा ११ तल्लाबाट नौ तल्लामा सीमित भएको थियो।
फेरि विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पबाट धरहरा पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। हाल पुनर्निर्माण गरी धरहरा सञ्चालनमा ल्याइएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
