सञ्चार उपकरण विस्फोटको दोस्रो लहरपछि हेजबुल्लाह अस्तव्यस्त

हेजबुल्लाहले सञ्चारका लागि प्रयोग गर्ने उपकरण अभूतपूर्व विस्फोटको दोस्रो लहरले यो समूहलाई अस्तव्यस्त बनाएको छ।

लेबनानको दक्षिणी उपनगरमा पेजर विस्फोटबाट मारिएका आफ्ना चार कमरेडको कफिन बोक्दै हिजबुल्लाह लडाकुहरू। तस्वीर : बिलाल हुसेन/एपी)

लेबनानको हेजबुल्लाहले सञ्चारका लागि प्रयोग गर्ने उपकरण अभूतपूर्व विस्फोटको दोस्रो लहरले यो समूहलाई अस्तव्यस्त बनाएको छ।

सञ्चार उपकरण  विस्फोटको पछिल्लो घटनामा बुधबार २० जनाको ज्यान गएको छ भने ४४० भन्दा बढी घाइते भएको अधिकारीले बताएका छन्।  

हेजबुल्लाहले एकआपसमा सञ्चार गर्न प्रयोग गर्ने हाते पेजर एकैसाथ विस्फोट हुँदा लेबनानभर दुई बालबालिकासहित १२ जनाको मृत्यु र दुई हजार ८०० जना घाइते भएको एक दिनपछि बुधबार दोस्रो लहरको विस्फोट भएको थियो।  

बेरुतस्थित हेजबुल्लाहको गढमा यसका सदस्यले प्रयोग गर्ने ‘वाकी–टकी’ विस्फोट भएको नजिकको एक स्रोतले जानकारी गराएको छ। दक्षिण र पूर्वी लेबनानमा पनि यस्तै विस्फोटको घटना भएको राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

एएफपीटीभीको फुटेजमा दक्षिण बेरुतमा हेजबुल्लाह लडाकुको अन्त्येष्टि समारोहमा विस्फोट हुँदा मानिसहरूको भागाभाग भएको देखाइएको थियो।

“वाकी टकीलक्षित विस्फोटको लहरले २० जनाको मृत्यु हुनुसाथै ४५० भन्दा बढी घाइते भएका छन्,” लेबनानको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ।

इजरायलले उक्त घटनाबारे कुनै टिप्पणी गरेको छैन।

हारेट्ज पत्रिकाका अमोस हरेलले पेजर र वाकी–टकी विस्फोटले ‘इजरायल र हेजबुल्लाहलाई पूर्ण रूपमा युद्धको सँघार’मा पुर्‍याएको बताए।

मध्यपूर्वमा तनाव बढ्दै जाँदा संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, फ्रान्स र इटालीका वरिष्ठ कूटनीतिज्ञ बिहीबार पेरिसमा भेटवार्ता गर्ने स्रोतले जनाएको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले कायरोमा गाजा युद्धविरामको सम्भावनाबारे छलफल गरेपछि फ्रान्सको राजधानीमा आफ्ना समकक्षीसँग वार्तामा सहभागी हुने छन्।

लेबनानका विदेशमन्त्री अब्दल्लाह बोउ हबीबले हालको पेजर विस्फोटको घटना ‘लेबनानको सार्वभौमिकता र सुरक्षामा स्पष्ट आक्रमण’ भएको र यसले ‘व्यापक युद्धको संकेत’ गर्ने चेतावनी दिएका छन्। 

हेजबुल्लाहले इजरायललाई ‘यस आपराधिक आक्रमणका लागि पूर्ण रूपमा जिम्मेवार’ ठहराउँदै बदला लिने वाचा गरेको छ।

विश्लेषकले पेजर हेजबुल्लाहलाई सुम्पिनुअघि अपरेटिभले सम्भवतः विस्फोटक पदार्थ जडान गरेको हुनसक्ने बताएका छन्।

विस्फोटको बारेमा लेबनानी अनुसन्धानको प्रारम्भिक निष्कर्षले पेजरमा बुबी–ट्र्याप जडान गरिएको फेला परेको एक सुरक्षा अधिकारीले बताए। 

हेजबुल्लाहको नजिकको एक स्रोतले पेजर ‘भर्खरै आयात गरिएको’ र ‘उपकरण तोडफोड’ गरिएको देखिने जानकारी गराएको छ । 

हालैका महिनामा लक्षित आक्रमणहरूमा धेरै सेना गुमाएपछि आफ्नो सञ्चार सुरक्षाको बारेमा पहिले नै चिन्तित रहेको हेजबुल्लाहलाई यस आक्रमणले ठुलो झट्का दिएको छ।