राष्ट्रिय झन्डाले ढपक्कै दरबारमार्ग (तस्वीरहरू)

संविधान दिवसको अवसर पारेर बिहीबार आयोजित ‘नेसनल डे कन्सर्ट’ हेर्नका लागि हजारौँ मानिसहरू दरबारमार्ग क्षेत्रमा जम्मा भएका छन्।

तस्वीर : नेपाल फाेटाे लाइब्रेरी

संविधान दिवसको अवसर पारेर बिहीबार काठमाडौँको दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिएको छ। कन्सर्ट आयोजना भइरहेको दरबारमार्ग क्षेत्रमा नेपालको झन्डा फहराइएको छ। दरबारमार्ग राष्ट्रिय झन्डाले ढपक्कै ढाकिएको छ।

नागरिकस्तरबाट आयोजित कन्सर्ट सञ्चालन गर्न सरकारले समन्वय र सहजीकरण गरेको छ। कन्सर्टका लागि बुधबारदेखि दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ। कन्सर्ट हेर्नका लागि हजारौँ मानिस दरबार मार्ग क्षेत्रमा आएका छन्।

बिहीबार बेलुकी ८ बजेसम्मका लागि केशर महल चोकबाट दक्षिण गेटतर्फ जाने सवारीसाधनलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिण गेटतर्फ आउने सवारीसाधनलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र सालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारीसाधनलाई घण्टाघरतर्फ ‘डाइभर्सन’ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

मानिसहरूको आवागमन हेरेर करिब पाँच हजार सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ।