संविधान, कानूनविपरीत काम गर्ने कर्मचारीलाई तत्काल कारबाही गर्न बारको माग

अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे र महासचिव अधिवक्ता अन्जिता खनालले विज्ञप्ति जारी गर्दै संविधान, कानूनविपरीत काम गर्ने कर्मचारीलाई तत्काल कारबाही गर्न माग गरेका छन्।

काठमाडौँ– नेपाल बार एशोसिएशनले संविधान, कानूनविपरीत काम गर्ने कर्मचारीलाई तत्काल कारबाही गर्न माग गरेको छ। अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे र महासचिव अधिवक्ता अन्जिता खनालले विज्ञप्ति जारी गर्दै कारबाही गर्न माग गरेका हुन्।

सार्वभौम संसदको मूल्य–मान्यता विपरीत आफ्नो पदीय हैसियतको ख्याल नगरी एक कर्मचारीबाट सार्वभौम संसद्को क्षेत्राधिकारमाथि हस्तक्षेप गरी निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको निलम्बनको पत्रलाई निष्प्रभावी भएको निष्कर्ष निकाल्दै पत्राचार भएको विषयमा बारले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

जबराकाविरुद्धमा नेपालको संविधानको धारा १०१ बमोजिम महाभियोगको प्रस्ताव संसद‍्मा पेश भई प्रक्रियासमेत अगाडि बढेको अवस्थामा उनीउपर लगाइएको महाभियोग संसद्को पुँजी बनी सकेको र महाभियोग सिफारिस समितिले आवश्यक अनुसन्धान प्रक्रिया पूरा गरी आउँदो सार्वभौम संसद‍्मा निर्णयार्थ पेश गर्ने गरी गरेको निर्णयलाई चुनौती दिने काम गरिएको बारको ठहर छ।

“नेपालको संविधान, ऐन, कानून तथा संसदीय मूल्य–मान्यताको उल्लंघन भएको हुँदा सो पत्राचार गरिएको कार्य उपर नेपाल बार एशोसिएशन गम्भीर आपत्ति प्रकट गर्दछ”, बारले विज्ञप्तिमा भनेको छ। त्यस्तो शून्यप्रभावी पत्र कार्यान्वयन नगर्न नेपाल बार एशोसिएशन सम्बद्ध निकायको ध्यानाकर्षण गराएको छ।

एशोसिएशनले १०९ दिनसम्म न्यायपालिकाको समग्र सुधार, शुद्धीकरण र सुदृढीकरणका लागि प्रधानन्यायाधीश जबराको राजीनामासमेतको माग राखी निरन्तर आन्दोलन गरेको थियो।