नेपालगन्जमा पहिलोपटक रात्रि दौड: पाल र साहुले जिते उपाधि

संविधान दिवसका अवसरमा बिहीबार राति नेपालगन्जमा आयोजित दौडमा त्रिभुवन आर्मी क्लबका मुकेश पाल ३१.०७.२१ मिनेटमा दौड पूरा गर्दै च्याम्पियन बनेका छन्।

नेपालगन्ज– नेपालगन्ज १० किलोमिटर रात्रि दौडको उपाधि त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहुले जितेका छन्।

संविधान दिवसका अवसरमा बिहीबार राति नेपालगन्जमा आयोजित दौडमा पाल ३१.०७.२१ मिनेटमा दौड पूरा गर्दै च्याम्पियन बनेका हुन्। यसमा नेपाल एपीएफ क्लबका सन्तोष विक्रम विष्ट उपविजेता र किरणसिंह बाेगटी तेस्रो भए। सन्तोषले ३२:४८:४४ मिनेटमा किरणले ३२:५४:६३ मिनेटमा दौड पूरा गरेका थिए। 

धारा नेपालगन्ज म्याराथनको दसौँ संस्करण विशेष बनाउन ‘दसौँमा दस इभेन्ट’अन्तर्गत पहिलो कार्यक्रमका रूपमा भएको दौडमा महिला खुलातर्फ बाँके नरैनापुरकी गीताकुमारी साहु पहिलो भइन्। उनले ५९:१६:५२ मिनेटमा दुरी पूरा गर्दा काेहलपुरकी स्वस्तिका शाहीले ५१:०६:३७ मिनेटमा दुरी पूरा गरी उपविजेता भइन्। सलिना थारुले एक घण्टा ६ मिनेट ४८ सेकेन्डमा फिनिसिङ लाइन छुँदै तेस्रो बनिन्। 

पुरुष तथा महिलातर्फ विजेता, उपविजेता र तेस्रो हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँसहित पदक र प्रमाणपत्र प्राप्त गरे। 

यसैगरी, भेट्रान पुरुषतर्फ रैवत दाहाल ३८:०८:७१ मिनेटमा दुरी पूरा गर्दै प्रथम, बाँके खजुराका भरत श्रेष्ठ ४८:५६:२३ मिनेटमा पार गर्दै दोस्रो तथा महेन्द्र बज्राचार्य ४९:१९:२५ मिनेटमा पार्दै तेस्रो भएका थिए। 

नेपालगन्ज उपमहानगरपालिका प्रवेशद्वार अगाडि निर्मित ‘नाइट रन गेट’बाट शुरू भएको दौड बीपी चाेक, धम्बाेजी चाेक, पुष्पलाल चाेक, कारकादाे चाेक हुँदै राँझा नजिकै पुगेर पुनः सोही रुटमा बीपीचाेक पुगेपछि सम्पन्न भएको थियो। 

नेपालगन्जमा नेपालमै पहिलोपटक रात्रि दौड आयोजना गरिएको हो।