हेम प्रभासको कविता संग्रह ‘साँझमा सेल्फी’ लोकार्पण

राष्ट्रिय नाचघर जमलमा बिहीबार कवि डा. नवराज लम्साल र श्रवण मुकारुङ, कलाकार सरोज खनाल, प्रकाशक पुष्पराज पौडेल तथा हेम स्वयंले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन्।  

काठमाडौँ– साहित्यकार हेम प्रभासको कविता संग्रह ‘साँझमा सेल्फी’ लोकार्पण भएको छ। 

राष्ट्रिय नाचघर जमलमा बिहीबार कवि डा. नवराज लम्साल र श्रवण मुकारुङ, कलाकार सरोज खनाल, प्रकाशक पुष्पराज पौडेल तथा हेम स्वयंले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन्। 

कवि ठाकुर बेलवासे, सोझो गाउँले, रिमा केसी, राजनीतिक विशेषज्ञ शंकर तिवारी तथा गायक संगीतकार सन्तोष श्रेष्ठले कविता वाचन गरे। कलाकार खनालले कविता संग्रहमा रहेको कवितामाथि नाट्य प्रस्तुति गरे। कवि मुकारुङले कविता कृतिबाट धेरै आशा गरेको बताए। 

कवि डा. लम्सालले कवितामाथि समीक्षा गर्दै सफलताको शुभकामना दिए। सबै कविता उत्कृष्ट रहेको र किताब सबैका लागि उपयोगी हुने उनको भनाइ थियो। 

कवि हेमले दुई दशकदेखि कवितामा साधनारत रहेको भन्दै सोही साधनाको प्रतिफल नै ‘साँझमा सेल्फी’ भएको बताए। संग्रह पछिल्लो एक दशकमा लेखिएका नयाँ कविताको संग्रहका रूपमा आएको उनको भनाइ छ। शिखा बुक्सबाट प्रकाशित पुस्तक मोटो गाता र पातलो गातामा उपलब्ध छ।