मध्यविन्दुमा फोहोरबाट जैविक मल उत्पादन

मध्यविन्दु–११ कुसुण्डेमा फोहोर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरी जैविक मल उत्पादन शुरू गरिएको छ।

नवलपरासी– शहरी क्षेत्रमा फोहोरमैला व्यवस्थापन चुनौती बन्दै जाँदा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिकाले फोहोरबाट जैविक मल उत्पादन थालेको छ। मध्यविन्दु–११ कुसुण्डेमा फोहोर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरी जैविक मल उत्पादन शुरू गरिएको हो।

नगरपालिकाले घरबाट निस्कने फोहोरको अनिवार्य वर्गीकरण गरी कुहिने/नकुहिने संकलन गरी र व्यवस्थापन थालेको नगरप्रमुख भीमलाल अधिकारीले बताए। उनका अनुसार नकुहिने फोहोरबाट पुनः प्रयोगमा आउने छुट्टाएर बिक्री गर्ने र कुहिने फोहरबाट जैविक मल उत्पादन शुरू गरिएको हो।

फोहोरलाई कसरी पुनः अधिकतम प्रयोग गर्न सकिन्छ भन्नेतर्फ नगरपालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको नगरप्रमुख अधिकारीले बताए। दिगो रूपमा नगरभित्रको फोहोरमैला व्यवस्थापनलाई अघि बढाउन फोहोरसँगै आम्दानीलाई जोडेर व्यवस्थापन थालिएको उनले उल्लेख गरे।

“हामीले फोहोरलाई केवल फोहोरको दृष्टिकोणले मात्रै हेर्‍यौँ,” अधिकारीले भने, “मध्यविन्दु नगरपालिकाभित्र हामीले संकलन गरेको नकुहिने फोहोरमध्ये ७९ प्रतिशत बिक्री हुन्छ। कुहिने फोहरबाट जैविक मल उत्पादन गरिरहेका छौँ।” गत वर्षदेखि नगरपालिकाले फोहोर व्यवस्थापनको काम शुरू गरेको हो।

फोहोर व्यवस्थापनका लागि दीर्घकालीन उपायको खोजी गर्ने क्रममा जैविक मल उत्पादन सही विकल्प देखिएको नगरप्रमुख अधिकारीले बताए। 

“एक ठाउँको फोहोर अर्को ठाउँमा सारेर व्यवस्थापन गर्‍यौँ भन्ने होइन, यसको दीर्घकालीन व्यवस्थापनसहित आर्यआर्जनसँग जोड्ने गरी हामीले शुरूआत गरेका छौँ,” उनले भने।

फोहोरबाट मल उत्पादन र मललाई आम्दानीसँग जोड्ने गरी नगरपालिका अघि बढेको नगर कार्यालयले जनाएको छ। मध्यविन्दु नगरपालिकाको पाँच वटा वडाबाट शुरू गरेको फोहोर संकलन हाल सबै वडामा पुगेको नगर उपप्रमुख पूर्णकला चौधरीले जानकारी दिए।

“जैविक मल उत्पादनका लागि आवश्यक मिश्रणका लागि स्थानीय सामुदायिक वनबाट हरियो घाँस, सुकेका पात संकलन हुन्छ। जसबाट स्थानीय समुदायको आम्दानीको स्रोतसमेत वृद्धि भएको छ,” उपप्रमुख चौधरीले भने।

सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन केन्द्र सञ्चालनका लागि नगरपालिकाले छुट्टै इकाई स्थापना गरी आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताए। 

क्रमशः शहरीकरणको शुरूको चरणमा रहेको मध्यविन्दुमा अहिलेदेखि फोहोरमैला व्यवस्थापन थालिएकाले यो कार्यले भविष्यमा हुनसक्ने सम्भाव्य समस्यालाई कम गर्नेमा उनले विश्वास व्यक्त गरे।

“कुहिने फोहरबाट कम्पोस्ट मल तयार गर्न आवश्यक गोबर संकलनका लागि छाडाचौपाया व्यवस्थापन समेतसँगै अघि बढाउने योजना नगरपालिकाको रहेको छ,” घर्तीले भने, “यसलाई कार्यान्वयनमा ल्याउन आवश्यक संरचना निर्माणको चरणमा छ।”

उत्पादित जैविक मलमा आवश्यक तत्त्व रहे/नरहेको प्रयोगशालामा नियमित परीक्षण हुने कृषि शाखा प्रमुख अक्षय वाग्लेले बताए। उत्पादित जैविक मल नगरभित्रका किसानलाई सहुलियत दरमा उपलब्ध गराउने नगरपालिकाको योजना रहेको उनको भनाइ छ।

हालसम्म फोहोर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्रको स्थापनामा कुल चार करोड ३७ लाख ९८ हजार ३७४ रुपैयाँ खर्च भएको सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन केन्द्रका संयोजक इन्जिनियर विवेक पोखरेलले बताए। 

“पुँजीगततर्फ तीन करोड दुई लाख १६ हजार ३६४ रुपैयाँ खर्च भएकोमध्ये गण्डकी प्रदेश सरकारको साझेदारी कार्यक्रमबाट एक करोड ३५ लाख ८२ हजार रुपैयाँ खर्च भएको छ,” उनले भने।

फोहोर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना भएसँगै फोहोर व्यवस्थापन, रोजगारी सिर्जना, छाडाचौपाया व्यवस्थापन, जैविक मल उत्पादनलाई जोड्ने काम भइरहेको नगरप्रमुख अधिकारीले बताए। 

योसँगै उत्पादित जैविक मलले कृषिमा रासायनिक मलको प्रयोगमा कमी ल्याउन, कृषि उत्पादन बढाउन र अर्ग्यानिक उत्पादनलाई सहयोग पुर्‍याउने उनले विश्वास व्यक्त गरे।