सुनवलमा डेढ करोडभन्दा बढी लागतको पशु अस्पताल प्रयोगविहीन

ठेकेदारले काम सम्पन्न गरेर दुई वर्षअघि नै नगरपालिकालाई हस्तान्तरण गरेका थिए। अस्पताल प्रयोगमा नआउँदा बनेकै संरचनासमेत बिग्रिन थालेका छन्।

पाल्हिनन्दन– नवलपरासी बर्दघाट सुस्ता पूर्वको सुनवल‐२ रजहवामा रु एक करोड ५१ लाखको लागतमा निर्माण गरिएको पशु अस्पताल सञ्चालनमा आउन सकेको छैन।

ठेकेदारले काम सम्पन्न गरेर नगरपालिकालाई हस्तान्तरण गरेको दुई वर्ष भइसकेको छ। जनप्रतिनिधिबीच प्राविधिक तथा व्यवस्थापकीय पक्षका बारेमा कुरा नमिलेपछि अस्पताल प्रयोगमा आउन नसकेको सुनवल‐२ का वडाध्यक्ष राजेन्द्र यादवले बताए। अस्पताल प्रयोगमा नआउँदा बनेकै संरचनासमेत बिग्रिन थालेको उनले गुनासो गरे। 

“अस्पताल भवन प्रयोगमा नआउँदा यहाँ फलाम र भित्तामा लगाएको रङमा खिया लाग्न थालिसकेको छ। दिनप्रति दिन भवनको अवस्था बिग्रिन थालेको छ,” उनले भने, “संघीय सरकार वडा कार्यालयको संयुक्त लगानीमा बनेको भवन प्रयोगमा नआउँदा कम्पाउन्डभित्र झारपात उम्रेर जंगल जस्तै बनेको छ।”

सुनवल नगरपालिकाका प्रमुख विमला अर्यालले अस्पताल सञ्चालनका लागि थप कर्मचारीको आवश्यकता भएकाले त्यसको व्यवस्थापन हुन नसक्दा केही समस्या रहेको बताइन्। अस्पताल सञ्चालन नहुँदा यहाँका किसानले घरपालुवा जनावर बिरामी हुँदा उपचारका लागि समस्या भोग्नु परिरहेको छ।