अरनिको राजमार्ग विस्तारमा जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापन गर्न सकस

विस्तारित बनेपा–धुलिखेल सडकखण्डमा केही मोड सुधारका लागि थप जग्गा अधिग्रहणका लागि आयोजनाले प्रक्रिया थालेपछि मूल्यका विषयमा विवाद सिर्जना भएको छ।

फाइल तस्वीर

काभ्रेपलान्चोक– अरनिको राजमार्ग विस्तार आयोजनाअन्तर्गत उपत्यकाको सीमास्थल काभ्रेको साँगादेखि धुलिखेलसम्म सडक विस्तार सुस्त भएको छ।  जग्गा अधिग्रहणको समस्या, अधिक वर्षा तथा  सडक खण्डमा पर्ने ऐतिहासिक आठ संरचना व्यवस्थापनमा कठिनाइ भएपछि केही सुस्ताएको हो।

विस्तारित बनेपा–धुलिखेल सडकखण्डमा केही मोड सुधारका लागि थप जग्गा अधिग्रहणका लागि आयोजनाले सोसम्बन्धी प्रक्रिया थालेपछि विवाद सिर्जना भएको छ। उक्त क्षेत्रमा करिब चार सय मिटरमा करिब पाँच रोपनी जग्गा अधिग्रहणका लागि छलफल गर्दा स्थानीयले सरकारी मूल्यांकनभन्दा पाँच गुणा बढी मूल्य मागेपछि समस्या सिर्जित भएको आयोजनाले जनाएको छ। 

सूर्यविनायक–धुलिखेल सडक आयोजनाले बनेपा नगरपालिका–६ र धुलिखेल नगरपालिका–४ स्थित दुई नगरको सीमा क्षेत्रमा दुई वडाका ११ जग्गाधनीको १७ कित्ता जग्गा अधिग्रहणका लागि छलफल अघि बढाएको हो। 

सडक आयोजनाले जग्गा अधिग्रहण गर्न प्रक्रिया थालेपछि जग्गाधनीले प्रतिआना जग्गाको मूल्य ६५ लाख मागेपछि थप अन्योल भएको छ। आयोजनाका लागि जग्गा अधिग्रहण गरेर सडक विस्तार गर्ने गर्ने कि अहिलेकै अवस्थामा सडक विस्तार गर्ने भन्ने विषयमा अन्योलमा भएको हो। आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले भने, “सवारीको गति बढाउने उद्देश्यले सडकको मोड सुधार गर्न ती स्थानको जग्गा अधिग्रहण गर्न कठिन देखिएको छ ।” उनका अनुसार जग्गा अधिग्रहणका लागि जग्गाधनीसँग दुई पटक छलफल गर्दा समेत कुनै समाधान निस्किएको छैन। 

उनका अनुसार जग्गाधनीको मागअनुसार आयोजनाले अधिग्रहण गर्न सक्दैन। हाल प्रतिघण्टा ३५ किलोमिटर भएकाले स्तरोन्नति भइरहेको सडकको ढाँचामा प्रतिघण्टा ४० किलोमिटर उल्लेख गरिएकोले मोड सुधार गर्नुपर्ने आवश्यकता देखिएको प्राविधिक खनालले बताए। 

मालपोत कार्यालय काभ्रेका अनुसार बनेपा क्षेत्रको जग्गाको मूल्य प्रतिआना १२ लाख ५४ हजार रुपैयाँ छ भने धुलिखेलतर्फको जग्गाको मूल्य प्रतिआना १० लाख ६६ हजार रुपैयाँ कायम भएको छ। सरकारी मूल्यांकनअनुसार जग्गाधनीले पाँच गुणाभन्दा बढी मूल्य माग गरेका हुन्।

यसैबीच आयोजनालाई हाल यस साँगा–धुलिखेल सडक खण्डअन्तर्गत ८.४ किमी सडक खण्डमा पर्ने ऐतिहासिक आठ संरचना व्यवस्थापनमा कठिनाइ भएको पाइएको छ। सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनालाई विवरण उल्लेखित पोखरी, मन्दिर, कुवा, नासिका मन्दिर र ढुंगेधारा व्यवस्थित एवं स्थानान्तरणमा समस्या देखिएको हो। यस्तै भैँसेपाटीमा दुई कुवा, ढुंगेधारा तथा जनागालस्थित पिपलबोटमा गणेश मन्दिर ऐतिहासिक सम्पदाको सूचीमा परेका हुन्। यीमध्ये गणेश मन्दिर स्थानीयले अन्यत्र स्थानान्तरण गरिसकेका छन्। 

आयोजनालाई बाँकी सात स्थानमा रहेका आठ सम्पदाको संरक्षण, व्यवस्थापन एवं स्थानान्तरण गर्ने गरी बनाइएको वैकल्पिक ‘डिजाइन’का विषयमा स्थानीय जनप्रतिनिधि एवं अगुवासँग छलफल थालिने जनाइएको छ।

आयोजना प्रमुख राजेन्द्रप्रसाद दासले उक्त सडक खण्डमा सम्पदा व्यवस्थापन एवं स्थानान्तरण गर्न स्थानीयस्तरमा छलफल थालेको बताए। उनका अनुसार साँगामा रहेको ऐतिहासिक पोखरीलाई नासिका भगवती मन्दिरनजिक वा उपयुक्त स्थानमा स्थानान्तरणको प्रस्ताव गरेको छ भने मन्दिर र कुवालाई पनि सोही मन्दिर आसपास स्थानान्तरण गर्न सकिने गरी छलफल थालिने छ।

यस्तै नासिका मन्दिरको कम्पाउन्ड वाल संरक्षण गरी ‘वान–वे’ सडक निर्माण गर्ने वा नगर्नेबारे अनिर्णीत भएको छ। स्थानीयले भने नासिका मन्दिरको ऐतिहासिकता महत्त्वपूर्ण भएकाले सोही स्थानमा संरक्षणका लागि सुझाव दिएका छन्। 

सडक विभागका अनुसार विस्तारित सूर्यविनायकदेखि धुलिखेलसम्म कुल १५.५ किमी सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेलम्म ८.४ किमी सडकखण्ड विस्तार कार्यका लागि चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का लगाइएको थियो।

विसं २०७९ फागुन १६ गतेबाट निर्माण थालिएको आयोजनाको अवधि ३६ महिना हो। दुई लेनबाट ६ लेनका लागि विस्तार कार्य भइरहेको अरनिको राजमार्गको यस सडकखण्ड दायाँबायाँ दुई सर्भिस लेन तथा २.५ मिटरको फुटपाथ निर्माण हुने छ।