पोखरामा १ महिनामा ६ गुणाले बढे डेंगी संक्रमित

कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगी संक्रमण ६ गुणाले बढेको छ।

गण्डकी– कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगी संक्रमण ६ गुणाले बढेको छ। भदौ पहिलो साता डेंगी संक्रमितको संख्या ७०० आसपास रहेकोमा महिना दिनमा बढेर चार हजार ४३३ पुगेको हो। महानगरको स्वास्थ्य महाशाखाका अनुसार संक्रमितको उक्त कुल संख्या गत पुसयताको हो।

महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले संक्रमितको संख्या ३१ सय बढी पुग्न नदिई डेंगी रोकथाम गर्ने लक्ष्य पूरा गर्न नसकिएको बताए। “पछिल्लो एक महिनामा डेंगी संक्रमण ह्वात्तै बढ्यो, यही अवस्था रहिरहे पाँच हजार बढीमा संक्रमण देखिन सक्छ,” उनले भने, “प्रत्येक व्यक्तिले सावधानी नअपनाएसम्म डेंगी रोकथाम चुनौतीपूर्ण छ ।”

गत वर्ष पोखरा महानगरपालिकाका ती हजार ३७० जनामा डेंगी संक्रमण पुष्टि भएको थियो। कात्तिक महिनासम्म संक्रमणको जोखिम रहने भएकाले यो वर्ष संक्रमितको संख्या अझै बढ्न सक्ने देखिएको जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए।

उनका अनुसार डेंगी संक्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको डेंगीका कारण मृत्यु भएको उनले जानकारी दिए। पोखरा महानगरपालिका ५, ८ लगायतका वडा डेंगीबाट बढी प्रभावित भएको स्वास्थ्य महाशाखाले जनाएको छ।

जनघनत्व बढी भएका ठाउँमा डेंगी छिटो फैलिने हुँदा महानगरको मुख्य शहरी क्षेत्रमा संक्रमण तीव्र बनेको हो। संक्रमण तीव्र बन्दै जाँदा उक्त रोग लाग्नबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सक तथा स्वास्थ्यकर्मीले सुझाएका छन्। 

स्वास्थ्य कार्यालय, कास्कीका प्रमुख रामबहादुर नेपालीले संक्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले डेंगी रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै उक्त रोगबाट बच्ने उत्तम उपाय भएको बताए। 

प्रमुख नेपालीले असारदेखि कात्तिकसम्म डेंगीको संक्रमण बढी फैलने बताए। समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके डेंगीले महामारीको रूप लिन सक्ने प्रमुख नेपालीले बताए। 

“डेंगीलाई सामान्य रूपले नसोचौँ, यसका अप्रिय उदाहरण हामीसँग छन्,” उनले भने, “डेंगी भइसकेपछि धेरै पीडा र दर्द हुन्छ, उपचार र हेरचाह पुगेन भने स्वास्थ्य अवस्था जटिल बन्दै गएर बिरामीको मृत्युसमेत हुनसक्छ।”

डेंगी रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने प्रमुख नेपालीको भनाइ छ। चार प्रकारको भाइरसबाट मानिसमा डेंगी संक्रमण हुने गरेको उनले बताए। उक्त लामखुट्टेले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा जन्माउने गरेको उनको भनाइ छ। यो लामखुट्टेले दिनमा मात्र टोक्ने गरेको उनले बताए।

डेंगी संक्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने चिकित्सक बताउँछन्। 

डेंगी भएमा आराम गर्ने, पानीलगायत झोलिलो पदार्थ पिउने र जथाभाबी औषधि सेवन गर्न नहुने उनीहरूको सुझाव छ। वृद्धवृद्धा, दीर्घरोगी, गर्भवती र बालबालिकामा डेंगीको संक्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तन सक्ने खतरा हुने प्रमुख नेपालीले बताए। डेंगी सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने उनको भनाइ छ। 

डेंगीको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, भाँडाकुँडा, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने प्रमुख नेपालीले बताए। 

कास्कीमा हालसम्म चार हजार ५५२ जनामा डेंगी संक्रमण पुष्टि भएकामा पोखरा महानगरपालिकाबाहेक अन्नपूर्ण, रुपा र मादी गाउँपालिकामा नौ/नौ जना र माछापुच्छ्रे गाउँपापलिकामा ३८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।