काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिसलाई

मालदिभ्सको मालेमा शनिबार राति भएको फाइनल खेलमा पुलिसले उज्वेकिस्तानको हुमो भिसीलाई ३–० सोझो सेटमा हराउँदै उपाधि जितेको छ। 

काठमाडौँ– नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ।

मालदिभ्सको मालेमा शनिबार राति भएको फाइनल खेलमा पुलिसले उज्वेकिस्तानको हुमो भिसीलाई ३–० सोझो सेटमा हराउँदै उपाधि जितेको हो। 

प्रतियोगितामा पुलिस क्लब अपराजित रह्यो। पुलिस क्लबले पहिलो सेट २५–१६ तथा दोस्रो सेट २५–२२ अंकले जितेको थियो। तेस्रो सेट पनि २५–२३ अंकले आफ्नो पक्षमा पार्दै पुलिस विजेता बन्यो। 

यसअघि पुलिस क्लबले लिग चरणको पहिलो खेलमा उज्वेकिस्तानको हुमो भिसीलाई नै ३–० सोझो सेटमा पराजित गरेको थियो। यस्तै अन्य खेलमा श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई ३–० सेटले नै पराजित गरेको थियो। 

यस्तै, मालदिभ्सको वाम्कोलाई ३–२ सेटले तथा लिग चरणको अन्तिम खेलमा घरेलु टोली मालदिभ्स पुलिस क्लबलाई ३–१ सेटले पराजित गरेको थियो।