प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेट, ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा जोड

राष्ट्रसंघको मुख्यालयमा भएको भेटवार्तामा महासचिव गुटेरेसले नेपालमा हिमाल पग्लिने र त्यसबाट हुने क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।

न्युयोर्क– संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्वसहित अमेरिका आएका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ। 

न्युर्कस्थित राष्ट्रसंघको मुख्यालयमा भएको भेटमा महासचिव गुटेरेसले नेपालमा हिमाल पग्लिने र त्यसबाट हुने क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे। ग्रिनहाउस ग्यास उत्सर्जनमा भारी कटौती र कमजोरीहरू सम्बोधनसहित नेपालजस्ता पर्वतीय देशको जलवायु वित्त पर्याप्त हुनुपर्नेमा उनले जोड दिएका थिए। 

सो अवसरमा उनले गत वर्ष आफ्नो नेपाल भ्रमणका क्रममा नेपाल सरकार र नेपाली जनताले देखाएको सदाशयताप्रति आभार व्यक्त गरेका थिए। महासचिव गुटेरेसले अतिकम विकसित देशलगायत विकासशील देशले कार्बन उत्सर्जन न्यूनीकरण र रोकथाममा ध्यान केन्द्रित गर्न अन्तर्राष्ट्रिय क्षेत्रमा गहन सुधारको आवश्यकतामा जोड दिएको भेटमा सहभागी राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका प्रतिनिधि (राजदूत) लोकबहादुर थापाले जानकारी दिए। 

विकासशील देशहरूले उन्नत वित्तीय सहायताका लागि वित्तीय संरचना सरलीकृत गर्न पहल गर्ने विश्वास दिलाउँदै महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघको शान्ति कार्यमा नेपाली शान्ति सैनिकको योगदानको उच्च प्रशंसा गरेका थिए। 

प्रधानमन्त्री ओलीले नेपाल भ्रमण गरेकामा कृतज्ञता व्यक्त गर्दै नेपालले जलवायु न्याय पाउनुपर्ने र यसमा पहलका लागि आग्रह गरेका थिए। उनले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न योगदान गरिरहेका नेपाली शान्ति सेनालाई राष्ट्रसंघको उच्चतम पद उपलब्ध गराउन आग्रह गरे। 

प्रधानमन्त्री ओलीले नेपालको खुम्बु क्षेत्रमा हालै गएको हिम पहिरोप्रति राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायको चासोका लागि पनि धन्यवाद दिँदै नेपालले चाँडै ‘हिमालय इकोसिस्टम’को अजेन्डासहित सगरमाथा संवादको आयोजना गर्ने जानकारी गराए। उक्त संवादमा सहभागी हुन महासचिव गुटेरेसलाई ओलीले निमन्त्रणासमेत दिए। 

भेटका अवसरमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई सहभागी थिए।