१०२ मेगावाटको मध्यभोटेकोशी १ महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

जुरे पहिरो, महाभूकम्प, नेपाल–भारत नाकामा भएको अवरोध, भोटेकोशी नदीमा आएको बाढी, कोभिड तथा ठेकेदारको कमजोर कार्यसम्पादनले आयोजना निर्माण प्रभावित भएको थियो।  

फाइल तस्वीर।

काठमाडौँ– चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्ने गरी काम अन्तिम चरणमा पुगेको छ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीको रूपमा रहेको चिलिमे जलविद्युतले बाह्रबिसे नगरपालिका–५ स्थित आयोजनाको विद्युत्‌गृहको स्विचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने काम गरिरहेको छ। २२० केभी सिंगल सर्किट प्रसारण लाइनको तार तान्ने काम दशैँ अगाडि सकिनेछ।

ऊर्जामन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिन्धुपाल्चोक–२ का सांसद मोहनबहादुर बस्नेत, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बाह्रबीसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतसहितको उपस्थितिमा भदौ १३ मा भएको छलफलमा करिब १४ महिनादेखि अवरोध रहेको प्रसारण लाइन निर्माणमा सहमति जुटेको थियो । बाँधक्षेत्रको निर्माण सम्पन्न गरी पानी हालेर परीक्षणसमेत भइसकेको छ। 

हाल सुरुङ सफाइ भइरहेको छ भने १५ दिनपछि सुरुङमा पानी भर्न शुरू हुनेछ। विद्युत्‌गृहमा सिभिल निर्माण सम्पन्न भई इलेक्ट्रोमेकानिकल उपकरण जडान एवं परीक्षण भइरहेको छ। सुरुङबाट पानी आउनसाथ उपकरणको ‘वेट टेस्ट’ हुनेछ। बाँकी सम्पूर्ण काम एक महिनाभित्र सम्पन्नगरी विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको जनाइएको छ।

मध्यभोटेकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन भएपछि सोही विद्युत् प्रयोगगरी प्राधिकरणले निर्माण गरेको बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिनेछ। 

जुरे पहिरो, महाभूकम्प, नेपाल–भारत नाकामा भएको अवरोध, भोटेकोशी नदीमा आएको बाढी, कोभिड तथा ठेकेदारको कमजोर कार्यसम्पादनले मध्यभोटेकोशीको निर्माण प्रभावित भएको थियो।  

आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ थियो । यसमध्ये ५० प्रतिशत स्वपुँजीबाट (इक्विटी) र ५० प्रतिशत ऋणबाट जुटाइएको छ। आयोजनाबाट वार्षिक रूपमा ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ।