मह किसानका समस्या अध्ययन गर्न सरकारले बनायो समिति

समितिलाई मह किसानका समस्या अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको कृषि मन्त्रालयले जनाएको छ।

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मह उत्पादक किसानको समस्या अध्ययन गर्न समिति गठन गरेको छ। आइतबार मन्त्रालयमा बसेको सरोकारवालासँगको बैठकमा कृषिमन्त्री रामनाथ अधिकारीले मन्त्रालयका सहसचिव भोजराज सापकोटाको अध्यक्षतामा सरोकार पक्षसमेत सहभागी हुने गरी नौ सदस्यीय समिति गठन गरेका हुन्।

समितिलाई मह किसानका समस्या अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ। बैठकमा मन्त्री अधिकारीले मह उत्पादक किसान र वितरक दुवै पक्षको हित हुने गरी कार्यदलले सुझाव दिने विश्वास व्यक्त गरे।

मन्त्री अधिकारीले सरकारको लक्ष्य आयात प्रतिस्थापन गरी स्वदेशी किसानको उत्पादनलाई प्राथमिकता दिने रहेको उल्लेख गर्दै मह किसानसम्बन्धित तत्कालका समस्या समाधान गर्न जरुरी रहेको बताए। समितिले दिने सुझावका आधारमा मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाउने मन्त्री अधिकारीको भनाइ थियो। 

मह किसानले हाल मौज्दात रहेको २१ सय मेट्रिक टन मह  बिक्रीको व्यवस्था मिलाइदिन सरकारसमक्ष माग गरेका छन्। मह आयात रोके पनि सिरफका रूपमा यसको आयात भइरहेको उनीहरूको गुनासो छ। मह किसानले महको आयातमा कर वृद्धि गर्नुपर्ने, स्वदेशी महलाई बजारीकरण गर्न सरकारले सहयोग गर्नुपर्ने लगायतका माग पनि सरकारसमक्ष राखेका छन्।