चीन अमेरिकाका लागि खतरा बन्दै गएको पेन्टागनको निष्कर्ष

अमेरिकाले चीनको राष्ट्रिय-परराष्ट्र र आर्थिक नीति, बेल्ट एन्ड रोड इनिसिएटिभ, सेना र नागरिक जोडिएको विकास रणनीति, रक्षा र सैन्य नीति, आणविक क्षमतासहित दर्जनौँ विषय समेट्दै प्रतिवेदन सार्वजनिक गरेको छ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले चीनले आणविक हतियार निर्माणलाई निरन्तरता दिइरहेको दाबी गरेको छ। 

पेन्टागनले अमेरिकी संसद्लाई बुझाएको ‘मिलिटरी एन्ड सेक्युरिटी डिभेलपमेन्ट्स इन्भल्बिङ द पिपल्स रिपब्लिक अफ चाइना’ नामक प्रतिवेदनमा यस्तो दाबी गरेको हो। 

चीन अमेरिकाका लागि खतरा बन्दै गएको र विश्वमा आफ्नो प्रभाव बढाउँदै लगेको निष्कर्ष प्रतिवेदनको छ।

प्रतिवेदनमा चिनियाँ आणविक गतिविधि, ताइवानप्रतिको ताजा धारणा तथा रणनीति, चिनियाँ सेनाको विस्तार तथा रणनीतिबारेसमेत ध्यानाकर्षण गराइएको छ। 

प्रतिवेदनमा चीनको उद्देश्य, प्रभाव र आगामी रणनीतिबारे विस्तारमा चर्चा गरिएको छ भने सैन्य क्षमता, चीन वरपर जारी संरचना निर्माण र गतिविधि, चिनियाँ सैन्य बल (पिपल्स लिबरेसन आर्मी) को बढ्दो विश्वव्यापी उपस्थिति, सैन्य बलको आधुनिकीकरण, सुरक्षा सम्पर्क आदानप्रदान, रणनीतिक स्थायित्व, सूचनासम्बन्धी धारणा र त्यसको दबाव, बढ्दो चिनियाँ सैन्य कूटनीति, चिनियाँ र ताइवानी सेनाको तथ्यांक तथा विवरण, सन् २०२१ मा चीनले गरेका द्विपक्षीय र बहुपक्षीय गतिविधिजस्ता शीर्षकमा प्रतिवेदन संरचित छ।

सन् २०२२ को अमेरिकी ‘राष्ट्रिय सुरक्षा रणनीति’ले चीनलाई आफ्नो प्रमुख प्रतिस्पर्धी मानेको छ। रणनीतिमा चीनलाई अन्तर्राष्ट्रिय व्यवस्थालाई नयाँ आकार दिनसक्ने क्षमता र उद्देश्यसहितको एकमात्र अमेरिकी प्रतिस्पर्धीसमेत भनिएको थियो।

सेना र सुरक्षा विकाससम्बन्धी अमेरिकी पेन्टागनको वार्षिक प्रतिवेदनमा चीनको राष्ट्रिय, आर्थिक र सैन्य रणनीतिसम्बन्धी चार्ट र वर्तमान पाठ्यक्रमसहित बेइजिङको महात्वाकांक्षा र चाहनासम्बन्धमा अमेरिकी संसदको ध्यानाकर्षण समेत गराइएको छ।

चीन अमेरिकी राष्ट्रिय सुरक्षाका लागि प्रणालीगत चुनौती भएको तथा स्वतन्त्र र खुला अन्तर्राष्ट्रिय नीतिका लागि पनि चुनौती भएको सन् २०२२ को ‘राष्ट्रिय सुरक्षा रणनीति’मा उल्लेख छ।

सन् २०२१ मा चीनले हिन्द–प्रशान्त क्षेत्रमा आक्रामक गतिविधि सञ्चालन गर्ने लक्ष्य लिएकाले सेनालाई पनि त्यसरी नै परिचालित गरेको बताइएको छ। यसअघि सन् २०२० मा अपनाइएको आधुनिकीकरणको लक्ष्य प्राप्त गरेको चीनले सन् २०२७ मा पनि यान्त्रिकीकरण, सूचना संयन्त्र र कृत्रिम बौद्धिकताको विकास तथा विस्तार गर्ने रणनीतिक लक्ष्य लिएको दाबी प्रतिवेदनले गरेको छ।  

सन् २०२७ का लागि लिइएको उद्देश्यअनुसार चिनियाँ सेनाको क्षमता अभिवृद्धि र विश्वसनीय सैन्य उपकरण बनाउन चिनियाँ कम्युनिष्ट पार्टीलाई मद्दत मिल्ने प्रतिवेदनमा उल्लेख छ।  

अमेरिकाले चिनियाँ राष्ट्रिय नीति, परराष्ट्र नीति, आर्थिक नीति, बेल्ट एन्ड रोड इनिसिएटिभ, सेना र नागरिक जोडिएको विकास रणनीति, रक्षा नीति र सैन्य रणनीति, आणविक क्षमतासहित दर्जनौँ विषयलाई एकेक गरी नियालेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले ‘आणविक क्षमता’ शीर्षकमा आगामी दशकमा चीनले आणविक गतिविधिका लागि कस्ता उद्देश्य लिएको छ र कसरी कार्यान्वयन गर्छ भन्ने उल्लेख गरेको छ। 

चीनले आगामी दशकमा त्यहाँको आणविक बललाई आधुनिकीकरण गर्ने, विविधता ल्याउने र विस्तार गर्ने लक्ष्य लिएको अमेरिकी दाबी छ। साथै, पहिलेका वर्षको तुलनामा चीनले अहिले परिमाणु हतियार र जटिलता दुवै बढाएको समेत उसको दाबी छ।

प्रतिवेदनमा भनिएको छ, “चीनले स्थल, समुन्द्र र हवाइ क्षेत्रका आणविक सुविधा र संरचना बिस्तार गर्दै लगेको यस क्षेत्रमा लगानी पनि बढाइरहेको छ। साथै, चीनले फास्ट ब्रिडर रियाक्टर र पुनप्रशोधित सुविधाको निर्माण गरी प्लुटोनियम (स्याटेलाइटका लागि ब्यास्ट्री ऊर्जा) को उत्पादन क्षमता बढाउँदै यसको विस्तारलाई सहयोग गरिरहेको छ।”

सन् २०२१ मा पनि बेइजिङले आणविक क्षमता बिस्तार गरेको हुनसक्ने प्रतिवेदनको अनुमान छ। अमेरिकी रक्षा विभागका अनुसार चीनसँग परिचालित परमाणु हतियार भण्डार ४०० नाघेको बताइएको छ। 

चीनको पिपल्स लिबरेसन आर्मीले सन् २०३५ भित्र त्यहाँको राष्ट्रिय सुरक्षा र सैन्य बलको आधुनिकीकरण गर्ने उद्देश्य लिएको छ। यदि चीनले आफ्नो आणविक क्षमता विस्तारलाई यही अनुपातमा निरन्तरता दिए सन् २०३५ सम्ममा ऊसँग आणविक हतियारको संख्या करिब १५ सय पुग्ने अनुमान गरिएको छ।

अमेरिकी रक्षा मन्त्रालयले ‘केमिकल एन्ड बायोलोजी रिसर्च’ शीर्षकमा चीन रासायनिक र प्राविधिक हतियार विकासमा समेत अब्बल बन्नसक्ने भनेको छ। अध्ययन–अनुसन्धान, विकास र केही रासायनिक र बायोटेक्नोलोजिकल एजेन्ट तथा टक्सिनहरूको बृहत् उत्पादनमा चीनका रासायनिक र बायोटेक्निोलोजीका संरचनाहरू पर्याप्त रहेको प्रतिवेदनमा उल्लेख छ।

“चीनसँग सम्भवतः जैविक र रासायनिक युद्धका गराउने प्राविधिक विज्ञता छ। साथै, चीनसँग क्षेप्यास्त्र, रकेटजस्ता बलिया हतियार र पारम्परिक हतियार प्रणाली  छन् जसलाई जैविक तथा रसायनिक युद्ध गराउन प्रयोग हुनसक्नछन्”, प्रतिवेदनमा उल्लेख छ, “चीनले दोहोरो प्रयोग हुने एप्लिकेसनमार्फत रासायनिक गतिविधिलाई निरन्तरता दिइरहेको छ। जसले चीनको जैविक हतियार सम्मेलनमा उसको सम्बद्धतामाथि पनि ध्यानाकर्षण गराएको छ। चीनका यस्ता गतिविधि त्यहाँका सैन्य मेडिकल संस्थाहरुमा दोहोरो प्रयोग अनुप्रयोग एप्लिकेसन्स र शक्तिशाली विष उत्पादन सम्बन्धी विषयसमेत अध्ययन सामग्रीका रूपमा राखिएको छ।”

तर यी प्रयोग र अध्ययन जैविक हतियार सम्मेलनका प्रतिबन्धभित्रै पर्छन् वा पर्दैनन् भन्ने अमेरिकाले पुष्टि गर्न नसकेको उल्लेख गरिएको छ।

यता, ‘अपरेसनल स्ट्रक्चर एन्ड एक्टिभिटिज अन चाइनाज पेरिफेरि’ शीर्षकमा प्रतिवेदनमा लेखिएको छ, “चीनले पूर्वी, दक्षिणी, पश्चिमी, उत्तरी र मध्य गरि पाँचवटै केन्द्रीय कमाण्डमा निरन्तररूपमा सैन्य सुधार गर्दै आएको छ। सम्भावित परिधीय खतराका लागि तयार छ।”

यस्तै, चीनले सन् २०२१ मा ताइवानसँगको कूटनीतिक, आर्थिक, राजनीतिक र सैन्य दबाब तीव्र पारेको र यस वर्षभरि नै चीनले ताइवानभित्र र आसपासका क्षेत्रमा उत्तेजक र अस्थिर क्रियाकलापलाई बढावा दिएको उल्लेख छ।

आफूलाई स्वतन्त्र राष्ट्र बताउने ताइवानलाई चीनले भने आफ्नो मुलुकको एक भू-भाग मान्दै आएको छ र कुनैदिन ताइवान चीनमा गाभ्ने कुरामा चीन दृढ रहेको पनि स्पष्ट पार्दै आएको छ। यस्तोमा, चीनले ताइवानलाई  बल प्रयोग नगरी शान्तिपूर्ण ढंगले एकीकृत गर्ने भन्दै आएको छ। तर उसले बल प्रयोग गर्ने/नगर्ने विषय भने अन्योल छ।

त्यसैले, चीनले ताइवानविरुद्ध शृंखलाबद्ध सैन्य अभियान चलाउने विकल्प चीनले प्रयोग गर्ने अनुमान गरिएको छ। यस सन्दर्भमा चीनले हवाई तथा  सामुद्रिक प्रतिबन्ध लगाउनसक्ने वा यी दुवै प्रतिबन्धसहित पूर्णतबरले ताइवान कब्जा गर्नसक्ने अमेरिकी रक्षा मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ।

ताइवान कब्जा गर्ने चिनियाँ रणनीतिमा हवाइ तथा सामुद्रिक प्रतिबन्ध, बलपूर्वक कब्जा गर्ने, हवाइ र क्षेप्यास्त्र अभियानलाई तीव्रता दिनेलगायत विकल्पको प्रयोग गर्नसक्ने प्रतिवेदनमा भनिएको छ।

चीनको आणविक र सैन्य रणनीतिबारे पेन्टागनको रिपोर्टपछि चीनले प्रतिक्रिया दिँदै त्यसको खण्डन गरेको छ। चिनियाँ रक्षा मन्त्रालयले पेन्टागनको रिपोर्ट चीनको राष्ट्रिय सुरक्षा नीति र सैन्य रणनीति विपरीत रहेको बताउँदै चीनसँग आणविक हतियार भएपनि त्यसलाई पहिले प्रयोग नगर्ने नीतिमा आफू अडिग रहेको चीनको प्रतिक्रिया छ। 

मंगलबार चिनियाँ रक्षा मन्त्रालयले अमेरिकी रिपोर्टको खण्डन गर्दै यस्तो बताएको हो। रिपोर्टमा चीनले सन् २०३५ सम्म १५०० आणविक हतियार बनाउने भनिएको छ तर यो योजना कसरी अघि बढ्न भन्नेमा स्पष्ट योजना उल्लेख गरेको छैन।

त्यस्तै, चीनले अमेरिकाका कारण क्षेत्रीय शान्तिसुरक्षा र अमनचयनमा खलल पुग्ने गरेको समेत उल्लेख गरेको छ।