रामेछापमा बलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु, २ घाइतेलाई उपचारका लागि काठमाडौँ पठाइयो

रामेछापको मन्थलीमा बलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।

रामेछाप– रामेछापको मन्थलीमा बलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार दिउँसो मन्थली नगरपालिका–५ स्थित सुनारपानीमा बलेरो जिप दुर्घटना भएको हो।

दुर्घटनामा एक जनाको मृत्यु भएको र ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले बताए।

बा१८च १८३९ नं को डबल क्याप बलेरो जिप सुदूरमुकाम मन्थलीबाट सुनारपानी हुँदै मन्थली–४ सालुतर्फ जाँदै थियो। उक्त जिप अनियन्त्रित भई आइतबार दिउँसो १ बजेतिर सडकबाट करिब १५० मिटर तल खसेको हो।

दुर्घटनामा परी मन्थली नगरपालिका–५ का ६० वर्षीया पद्ममाया नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका सोही वडाका चालक ४२ वर्षीय गुनकुमार थापामगर र ६९ वर्षीय दिलीपकुमार बरुवाललाई उपचारका लागि काठमाडौँ पठाइएको छ।

अन्य घाइतेमा सोही वडाकी ३४ वर्षीया सीता नेपाली, २५ वर्षीया सुजीता रसाइली, २५ वर्षीया सरिता नेपाली र सरिताकी पाँच महिनाका छोरी रोनिषा छन्। 

सामान्य घाइतेको मन्थलीस्थित रामेछाप सामुदायिक अस्पताल र मन्थली अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए।