साना तथा मझौला व्यवसायलाई कर्जा सुनिश्चित गर्न विज्ञहरूको सुझाव

साना र मझौला उद्यमले केन्द्रीय बैंकसँगको सहकार्यमा सबै क्षेत्रमा दिगो वृद्धि हुने किसिमले काम गर्नुपर्ने राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको भनाइ छ।

काठमाडौँ–  विज्ञहरूले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि साना तथा मझौला व्यवसायका लागि कर्जा सुनिश्चितता आवश्यक रहेको बताएका छन्। एशियाली क्रेडिट सपोर्ट एन्ड इन्नोभेसन कन्फेरेन्स (एसीक्स)को ३६औँ श्रृंखलाको तेस्रो दिनमा चलेको छलफलमा सहभागीले साना र मझौला उद्यम (एएसएमई)लाई सघाउन कर्जा सुनिश्चित गर्ने संस्थाको महत्त्वपूर्ण भूमिका रहने बताएका हुन्।

छलफलमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले एएसएमईले अहिले धेरै चुनौती र बाधाको सामना गरिरहेको बताए। “कर्जा सुनिश्चित गर्ने संस्थाले ऋणको माग र आपूर्तिबीच खाडल पुर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्,” उनले भने। यस्ता संस्थाले केन्द्रीय बैंकसँगको सहकार्यमा सबै क्षेत्रमा दिगो वृद्धि हुने किसिमले काम गर्नुपर्ने उनको भनाइ छ।

कार्यक्रममा इन्डोनेसियाली विज्ञ नुर श्यामसुदादी र जापान क्रेडिट ग्यारेन्टी महासंघका हातानोले इन्डोनेसियाली सरकारले साना तथा मझौला उद्यमको वित्तीय साक्षरता बढाउने अभियान सञ्चालन गरी ८० प्रतिशतभन्दा बढी उद्यमको कर्जा योग्यता बढाउने काम गरेकोबारे चर्चा गरेका थिए। हातानोले यस्ता उद्यममा डिजिटल प्रविधिको विकासले ल्याएको चुनौती अवसरबारे प्रकाश पारेका थिए।

आइतबार नै भएको आयोजित अर्को छलफलमा एशियाली नवीनतम वित्त व्यवस्थाका सफल उदाहरणबारे चर्चा गरिएको थियो। छलफलमा कोडिट एआईमा आधारित बस प्रणाली (जसले साना तथा मझौला व्यवसायलाई आफ्नो कर्जाको योग्यता तत्कालै जाँच्ने सजिलो प्रविधिको विकास गरेको छ)बारे चर्चा भएको थियो। एआईमा आधारित वित्तीय सेवाका साथै पर्यटन, ऊर्जासमेतका विभिन्न किसिमका उद्यममा सघाउने फिल ग्यारेन्टीको प्रयासलाई आर्थिक स्थिरता बढाउने बलियो उदाहरणबारे चर्चा गरिएको थियो।  

भारतको साना तथा मझौला उद्यम कोषकी व्यवस्थापक रिचा चौधरीले भनिन्, “यस्ता ऋणले साना उद्यम र उनीहरूका सिर्जनात्मक तथा नवीनतम सोचमा प्राण भर्ने काम गर्दै आएको छ।” उनका अनुसार यो कोषको कार्यक्षेत्र भारतका ८५ प्रतिशतभन्दा बढी साना तथा मझौला उद्यमसम्म पुग्न र आर्थिक रूपमा सघाउन सक्ने किसिमको छ।

निक्षेप तथा कर्जा सुरक्षण कोषकी प्रमुख मन्दिरा थपलियाले आफ्नो कोषले हालसम्म झन्डै १४ लाख ऋणीलाई डेढ अर्बभन्दा बढी नवीन सोच र उद्यमलाई सघाएको बताइन्।

अर्को सत्रमा वक्ताले प्रस्तावित उद्यम र लगानीकर्ता दुइटैलाई सघाउन र सम्भावित जोखिम कम गर्ने गरी मूल्यका नमूना निर्माण गर्ने तरिकामा छलफल गरेका थिए। कुमारी बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत अनिश ताम्राकारले परियोजनाको सम्भाव्यता र मूल्य प्रणालीबीच सन्तुलन मिलाउन आवश्यक रहेको बताए।

कार्यक्रमकै क्रममा आयोजित ‘वित्तीय नवीनता, रणनीति तथा सिकाइमार्फत जोखिम व्यवस्थापन र आगामी बाटो’ विषयक छलफलमा सहभागीले आर्थिक शिथिलता, प्राकृतिक प्रकोप र महामारीका बेला नवीनतम र स्टार्टअप उद्यममा हुने उच्च जोखिम व्यवस्थापनका उपायबारे विचार राखेका थिए। 

जापान र दक्षिण कोरियाका कर्जा सुरक्षण संस्थाका प्रतिनिधिले उल्लेखित जोखिम कम गर्न तथ्यांकमा आधारित र मात्रात्मक तरिकाको प्रयोगसँगै वित्तीय संस्थासँग जोखिम शेयर गर्ने, भेन्चर ऋण योजनालगायत मोडलबारे चर्चा गरेका थिए। उनीहरूले स्थानीय सरकारमा आधारित कर्जा सुनिश्चितता गर्ने संस्था, कर्जाको पुनः सुनिश्चितता गर्न सकिने तरिकालगायत योजनामा सचेतना आवश्यक रहेको बताए।

कोरिया रिजनल क्रेडिट ग्यारेन्टी फाउन्डेसनका प्रतिनिधिले नवीन प्रविधिमा आधारित साना तथा मझौला उद्यमलाई सघाउन आफ्नो संस्थाको सक्रिय अभियानबारे जानकारी गराएका थिए। उनले कसरी संस्थाले धोखाधडीलगायत पूर्वजोखिम र व्यवसाय डुब्नेजस्ता अन्य जोखिमलाई प्रविधिको प्रयोगमार्फत कम गर्न सघाइरहेको बताए।

आइतबार नै भएको ‘अनिश्चितताका बीच दिगो सुनिश्चिततासम्बन्धी कार्यक्रम निर्माण’ नामक सत्रमा प्राध्यापक सुरेश मानन्धरले बढ्दै गएका चुनौतीका बीच कर्जा सुनिश्चिततालाई दिगो बनाउनुपर्ने धारणा राखे‍। वक्ताहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)बाट कर्जा सुनिश्चित गर्ने र कार्यक्रमलाई दीर्घकालीन बनाउनेमा जोड दिए।