१० दिने चीन भ्रमण छोट्याएर सोमबारै फर्किँदै रास्वपाका नेताहरूको टोली

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा शनिबार १० दिने चीन भ्रमणमा गएको रास्वपा नेताहरूको टोली भ्रमण छोट्याएर आकस्मिक रूपमा स्वदेश फर्किन लागेको छ।  

काठमाडौँ– चिनियाँ पार्टीको निमन्त्रणमा १० दिने चीन भ्रमणमा गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू तेस्रो दिनमै स्वदेश फर्किने भएका छन्। 

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा रास्वपाका नेताहरूको १४ जनाको टोली चीन भ्रमणमा गएका थियो। टोली नेपालमा भएको राजनीतिक गतिविधिलाई ध्यानमा राखेर सोमबार नै नेपाल फर्किन लागेको हो।

चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली १० दिनका लागि शनिबार मध्यरातमा चीनका लागि उडेको थियो। 

सहकारी प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउ पर्ने आशंकापछि टोली भ्रमण छोट्याएर आकस्मिक रूपमा फर्किन लागेको हो।

“नेपालमा पार्टी सभापतिमाथि षड्यन्त्र हुन सक्ने लक्षण देखिएकाले तत्काल फर्किन लागेका हौँ,” भ्रमण टोलीलाई नेतृत्व गरेका डा. वाग्लेले भने। सहकारी प्रकरणमा लामिछाने पक्राउ पर्ने हल्लापछि आइतबार साँझ पार्टी कार्यालयमा नेताकार्यकर्ताको भीडसमेत लागेको छ।

टोलीमा पार्टी उपसभापति डा. वाग्ले, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरू गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुसरकार श्रेष्ठ छन्।