ईपीएल: म्यानचेस्टर सिटी र आर्सनल तथा ब्राइटन र नटिंघमले खेले बराबरी

गएराति भएका खेलमा सिटी र आर्सनल तथा ब्राइटन र नटिंघम फरेस्टले समान २/२ गोल गर्दै चार वटै टिमले बराबरी खेले।

काठमाडाैँ– इंग्लिस प्रिमियर लिग(ईपीएल) फुटबलमा म्यानचेस्टर सिटी र आर्सनल तथा ब्राइटन र नटिंघम फरेस्टले बराबरी खेलेका छन्। गएराति म्यानचेस्टर सिटीको घरेलु मैदान इतिहाड स्टेडियममा भएको खेलमा सिटी र आर्सनलले समान २/२ गोल गरे।

खेलको ९ मिनेटमा अर्लिङ हाल्यान्डले गोल गर्दै सिटीलाई शुरूआती अग्रता दिलाएका थिए। त्यसपछि आर्सनलका रिचार्डो क्यालाफियोरीले खेलको २२ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। फेरि दोस्रो हाफको पहिलो मिनेटमै गाव्रियल मगलेसले गोल गर्दै आर्सनललाई अग्रता दिलाए। तर जितको नजिक पुगेको आर्सनलले खेलको अन्तिम समयमा बराबरीमा चित्त बुझाउनुपर्‍यो।

निर्धारित ९० मिनेटको खेलपछि थपिएको अतिरिक्त समयमा गोल गर्दै जोन स्टोन्स्ले सिटीलाई २/२को बराबरीमा ल्याए। आर्सनलका लिन्ड्रो ट्रोसार्डले दोस्रो हाफको ८ औँ मिनेटमा रातो कार्ड पाएर खेलबाट बाहिरिएका थिए।

साविक विजेता सीटी १३ अंकका साथ शीर्ष स्थानमा छ भने ११ अंकसहित आर्सनल चौथो स्थानमा छ।

यस्तै, गएराति नै भएको अर्को खेलमा ब्राइटन र नटिङघम फरेस्टले पनि बराबरी खेलेका छन्। ब्राइटनको घरेलु मैदान फाल्मर स्टेडियममा भएको खेलमा ब्राइटन र नटिङघम फरेस्टले २/२ गोलको बराबरी खेलेका हुन्।

खेलको १३औँ मिनेटमा फरेस्टका क्रिस वुडले पेनाल्टी पाएर गोल गरे। त्यसपछि ब्राइटनका लागि ज्याक हिन्शेलउड र ड्यान्नि वेलबेकले क्रमश: ४२ र ४५औँ मिनेटमा गोल गर्दै अग्रता बनाएका थिए। तर पछि खेलको ७०औँ मिनेटमा नटिङघम फरेस्टका रामोन सोसाले गोल गर्दै खेल बराबरीमा ल्याए।

खेलको ८३औँ मिनेटमा नटिङघम फरेस्टका मोर्गन गीब्स ह्वाइटले रातो कार्ड पाएका थिए। यो खेलसँगै ९ अंकाका साथ ब्राइटन ७औँ स्थानमा छ भने समान अंक भएको फरेस्ट ८औँ स्थानमा छ।