शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप बढ्यो

अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले एक हप्तायता बढेको बिरामीको चापका कारण अस्पतालमा शय्याको अभाव हुन थालेको बताए।

काठमाडौँ– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा रोगका बिरामीको चाप रहेको छ। अस्पतालमा डेंगी, स्क्रब टाइफस र रेबिजका बिरामीको चाप बढेको हो।

अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले एक हप्तायता बिरामीको चाप बढेको बताए। बिरामीको चापका कारण अस्पतालमा शय्याको अभाव हुन थालेको उनको भनाइ छ। उनका अनुसार डेंगी, स्क्रब टाइफस र रेबिजका ५५ जना भर्ना गरी उपचाररत रहेका छन्। 

अस्पतालका निर्देशक डा. बसौलाले अहिले दैनिक आठ बिरामी उपचारका लागि आउने गरेको बताए। तीमध्ये धेरै डेंगी, स्क्रब टाइफस र रेबिजका बिरामी रहेका छन्।

भदौयता डेंगीका १९५, स्क्रब टाइफसका १३ र सर्पदंशका ७१ बिरामीले उपचार गरेका छन्। स्क्रब टाइफस मुसामा लाग्ने किर्नाजस्तो देखिने कीराको टोकाइबाट मानिसमा सर्ने गर्दछ।

मुसामा हुने किर्ना प्रायः झाडी, खेतबारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाउँमा देखिने गर्दछ। आजभोलि मानिस घाँसपात गर्न जाने गर्दछन् र सोही किर्नाले टोकेपछि मानिसमा सर्दछ। चिकित्सकहरूका अनुसार मानिसबाट मानिसमा स्क्रब टाइफस सर्दैन। 

धेरै ज्वरो आउनु, धेरै टाउको दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, बिस्तारै शरीरका मुख्य अंगले काम गर्न छाड्नु, कीराले टोकेको ठाउँमा रातो दाग देखिने र पछि कालो दाग बस्न जस्ता स्क्रब टाइफसका लक्षण हुन्।

समयमा यसको उपचार गर्न नसकेपछि मिर्गौला, कलेजामा असर पर्ने अस्पतालका निर्देशक डा. बसौलाले बताए। सय शैय्याको स्वीकृत पाएको अस्पताल अहिले ८५ शय्यामा सञ्चालनमा रहेको छ।