साफ यु१७ : सुजनको ह्याट्रिकमा श्रीलंकामाथि नेपालको जित

साफ यु१७ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले श्रीलंकालाई ४–० गोल अन्तरले पराजित गरेको छ।

काठमाडौँ– दक्षिण एशियाली फुटबल महासंघ (साफ) यु१७ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले श्रीलंकालाई पराजित गरेको छ। भुटानको चाङ्लिमिथाङ रंगशालामा सोमबार भएको खेलमा नेपालले श्रीलंकामाथि ४–० गोल अन्तर जित हात पारेको हो।

जितसँगै समूह ‘बी’मा रहेको नेपालले दुई खेलमा तीन अंक जोडेको छ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग १–० गोलअन्तरले पराजित भएको थियो। यता दुवै खेलमा पराजित श्रीलंका अंकविहिन छ।

श्रीलंका पहिलो खेलमा घरेलु टोली भुटानसँग ५–१ ले पराजित भएको थियो। सोमबार नेपालको जितमा सुजन डंगोलले ह्याट्रिक पूरा गरे भने विज्ञान खड्काले एक गोल थपे। खेलको चार मिनेटमा सुजनको गोलमार्फत नेपालले पहिलो अग्रता लिएको थियो। त्यसपछि खेलको १२औँ मिनेटमा सुजनले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए।

सुजनले खेलको ३०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। त्यसपछि खेलको ८४औँ मिनेटमा विज्ञानले गोल गर्दै नेपाललाई ४–० को सहज जित दिलाए। नेपालले आफ्नो तेस्रो खेल आयोजक भुटानसँग यही असोज ९ गते खेल्नेछ।