लेबनानमा इजरायली आक्रमणबाट २१ बालबालिकासहित २७४ जनाको मृत्यु

लेबनानका स्वास्थ्यमन्त्री लेबनानमा इजरायली आक्रमणबाट २१ बालबालिकासहित २७४ जनाको मृत्यु भएको बताएका छन्।

लेबनानका स्वास्थ्यमन्त्री फिरास अबियादले सोमबार लेबनानमा इजरायली आक्रमणबाट मारिनेहरूको संख्या २७४ पुगेको बताएका छन्। यसमा २१ जना बालबालिका छन्। हजारौँ परिवार बमबारीबाट बच्न घर छोडेर भागेका छन्।

“२१ बालबालिका र ३९ महिलासहित २७४ जनाको मृत्यु भएको छ। यस बारेमा हामीलाई अहिलेसम्म थाहा भएको यति हो,” अबियादले पत्रकार सम्मेलनमा भने, “लक्षित क्षेत्रहरूबाट हजारौँ परिवार विस्थापित भएका छन्।”

उनका अनुसार हिज्बुल्लाहको पेजर र वाकी–टाकी विस्फोट र बेरुतको दक्षिणी उपनगरहरूमा इजरायली आक्रमणमा एक साताभन्दा कम समयमा करिब पाँच हजार मानिस घाइते भएका छन्।

प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमाथि अहिलेसम्मकै सबैभन्दा खराब आक्रमण गरेपछि युद्ध शुरू भएको थियो। यसमा हिज्बुल्लाह र यस क्षेत्रका अन्य इरान समर्थित समूह हिंसामा तानिएका हुन्।

इजरायलले सोमबार दर्जनौँ आक्रमणमार्फत तीन सयभन्दा बढी हिज्बुल्लाहका स्थलमा प्रहार गरेको बताएको छ। हिज्बुल्लाहले भने उत्तरी इजरायलका तीन स्थानलाई लक्षित गरेको बताएको छ।

विश्व शक्तिहरूले इजरायल र हिज्बुल्लाहलाई पूर्ण रूपको युद्धको संघारबाट पछि हट्न आग्रह गरेका छन्।