अयोग्य नेतृत्वका कारण वायुसेवा निगम थला पर्‍यो : पर्यटनमन्त्री श्रेष्ठ

मन्त्री श्रेष्ठले आइकाओले नेपालको नीति, प्राधिकरण हवाई सुरक्षामा नेपालले गरेका कामका आधारमा नेपाललाई चाँडै कालोसूचीबाट हटाउने विश्वास व्यक्त गरे।

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल वायुसेवा निगमको नेतृत्वले क्षमता विकास गर्न नसकेको बताएका छन्।

बुधबार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सरकारले ठूलो लगानी गरेको वायुसेवा निगममा अयोग्य नेतृत्वका कारण जनताले सेवा लिनबाट वञ्चित हुने तथा विभिन्न दुःख पाउने गरेको आरोप लगाए। उनले अयोग्य नेतृत्वकै कारण सरकारले जनतालाई सुविधा दिनका लागि लगानी गरेको संस्था आन्तरिक तथा आन्तरिक उडानमा थला परेको बताए।

उनले नेतृत्व अयोग्य भयो भन्दा यस्तै नेतृत्वको निरन्तरताका लागि अदालतबाट 'स्टे' आउने गरेको बताए। "जनताको लगानी भएको संस्थाबाट जनताले नै सेवा नपाउनु देशको समस्या हो। अयोग्य व्यक्तिका कारण जनताले सेवा लिन सकेका छैनन्। अनि यस्तै नेतृत्व निरन्तरताका लागि अदालतबाट स्टे आउँछ", उनले भने।

उनले प्रतिस्पर्धाको युगमा निगममा दक्ष नेतृत्व ल्याउन आवश्यक रहेको तर्क गरे। उनले सरकारले नियुक्त गरेको अयोग्य व्यक्तिलाई नियमित तलब खुवाएर राख्नै पर्ने प्रवृत्तिबाट मुक्त हुन आवश्यक रहेको बताए।

मन्त्री श्रेष्ठले निगमले सरकारले गरेको लगानी उठे नउठेको विषयमा मौन बसेर विगतको भन्दा अहिले आम्दानी गरेँ भनेर निगम नेतृत्वले तर्क पेस गर्नु हास्यास्पद भएको बताए। उनले निगम आफैँले प्रतिस्पर्धी बनाउन आवश्यक रहेको भन्दै सधैँ राज्यले लगानी गरेर निगम चलाउन नसक्ने बताए।

मन्त्री श्रेष्ठले नेपालको आकाश हवाई उडान सुरक्षित रहेको दाबी गरे। उनले अन्तर्राष्ट्रिय निकायले हवाई सुरक्षाका विषयमा प्रश्न उठाउनुपर्ने अवस्था नभएको भन्दै प्राधिकरणले अझ सुरक्षालाई व्यवस्थित बनाउने काम गरिरहेको बताए। उनले नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षाको विषयमा कसैसँग सम्झौता गर्नु नहुने जिकिर गरे।

मन्त्री श्रेष्ठले सरकारले हवाई सुरक्षा नीति स्पष्ट बनाएको बताए। उनले आइकाओले नेपालको नीति, प्राधिकरण हवाई सुरक्षामा नेपालले गरेका कामका आधारमा नेपाललाई चाँडै कालोसूचीबाट हटाउने विश्वास व्यक्त गरे।

'वर्तमान हवाई नीति नै हवाई क्षेत्रको बाधक'
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले वर्तमान हवाई नीति नै हवाई क्षेत्रको बाधक भएको बताए। उनले सरकारको हवाई क्षेत्र विकासको प्रतिबद्धता र राष्ट्रिय हवाई नीति कमजोर भएको कारण हवाई क्षेत्रको विकास हुन नसकेको तर्क गरे।

उनले  पूर्व नागरिक उड्डयन प्राधिकरणका पूर्वप्रमुख वा मन्त्रालयका जानकारले मात्रै नीति बनाएर काम नहुने भन्दै बृहत् अर्थ बुझेका विज्ञहरूबाट हवाई नीति बनाउनुपर्ने बताए। उनले नेपालमा वातावरणीय प्रभावलाई देखाएर विमानस्थल बनाउन नसकिएको तर टर्कीले २५ लाख रूख काटेर विमानस्थल बनाएको तर्क गरे। उनले अहिले त्यो विमानस्थलमा ९ करोड हवाई यात्रु उडान गरिरहेको बताए।