दशैँका लागि अग्रिम टिकट बुकिङ शनिबारदेखि खुल्ने

विभागका अनुसार लामो दूरीका यात्रीवाहक सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्नुअघि यान्त्रिक चेकजाँच गर्नुपर्ने छ भने सवारीमा कम्तीमा दुई जना चालक अनिवार्य राख्नुपर्ने छ।

काठमाडौँ– दशैँका लागि अग्रिम टिकट बुकिङ शनिबारदेखि खुल्ने भएको छ। यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी, उपभोक्ता सम्बद्ध संस्था, ल्होत्से बहुउद्देश्यीय प्रालिसहितका सरोकारवालाबीच मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

विभागले चाडबाडको समयमा बाहिरका जिल्लाबाट काठमाडौँ उपत्यकामा प्रवेश गर्ने र बाहिरिने यात्रुको यात्रा सहज र सुरक्षित बनाउन भन्दै अग्रिम टिकट काट्ने व्यवस्था गर्ने गरेको छ। “मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा असोज १२ शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने,” निर्णयमा भनिएको छ, “यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने।”

विभागका अनुसार सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रुले अनिवार्य रूपमा टिकट लिनुपर्ने छ। टिकट काउन्टरबाट यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्र सवारी सञ्चालन गर्नुपर्ने छ। अनधिकृत काउन्टर, परिचयपत्र, पोसाक नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्यलाई नियन्त्रण गरिने विभागले जनाएको छ। 

यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको ढुवानी गर्नेबाहेकका ट्रेलर लगायतका ठूला सवारीसाधन असोज १७ गते घटस्थापनादेखि कात्तिक १ गते पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय पनि बैठकले गरेको छ।

“तथापि, प्रचलित कानूनबमोजिम आयातित मालवाहक सवारीको हकमा भन्सार प्रज्ञापनपत्र र निर्यातित मालवाहक सवारीको हकमा नियमअनुसारको राजस्व तिरेको रसिद हेरी तेस्रो मुलुकका आयात/निर्यात जन्य ढुवानीका साधन भन्सार कार्यालय बन्द रहने अवधिबाहेक नारायणगढदेखि काठमाडौँसम्मको सडक खण्डमा आवतजावतमा रोक नलगाउने,” निर्णयमा भनिएको छ।

यात्रुवाहक सवारीसाधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गर्ने निर्णय पनि बैठकको छ। विशेष प्रकृतिका कारण कुनै बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारीलाई भने बन्देज कायमै रहने विभागले जनाएको छ।

विभागका अनुसार लामो दूरीका यात्रीवाहक सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्नुअघि अनिवार्य रूपमा सवारीको यान्त्रिक अवस्था लगायतको चेकजाँच गर्नुपर्ने छ। लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रीवाहक सार्वजनिक सवारीमा कम्तीमा दुई जना चालक अनिवार्य राख्नुपर्ने छ।

यात्रुको सहजीकरणका लागि उपत्यकाको नागढुंगा, कलंकी, स्वयम्भू, हलचोक, माछापोखरी, नयाँबसपार्क, चावहिल, तिलगंगा, कोटेश्वर, जगाति, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा तथा काभ्रेको साँगामा नागरिक सहायता कक्ष स्थापना गरिने विभागले जनाएको छ।