यसपालिको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काले मौसम राम्रो भएमा १८ लाखको हाराहारीमा मानिसहरू उपत्यकाबाट बाहिरिने सम्भावना रहेको बताए।

काठमाडौँ– यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ। यो संख्या गत वर्षको तुलनामा पाँच लाखले बढी हो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काले मौसम राम्रो भएमा १८ लाखको हाराहारीमा मानिसहरू उपत्यकाबाट बाहिरिने सम्भावना रहेको बताए। उनका अनुसार अघिल्लो वर्ष १३ लाखको संख्यामा सर्वसाधारण उपत्यकाबाट बाहिरिएका थिए।

“यो वर्षको दशैँमा वर्षा भएन भने गत वर्षको तुलनामा पाँच लाख बढी सर्वसाधारणले उपत्यका छाड्ने अनुमान गरिएको छ,” उनले भने।

चाडपर्वका बेलामा आवतजावत गर्नेको चाप बढ्दा दुर्घटना पनि बढ्न सक्ने भएकाले सो विषयमा सरोकारवालाहरूसँग छलफल भइरहेको उनले बताए।

“सडक राम्रो नहुनु, सवारीसाधनको बढी चाप हुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु, हतारहतार गरेर यात्रु ओसारपोसार गर्नु, बिग्रिएका सवारी साधनहरू पनि सञ्चालन गर्नुलगायतका कारण चाडपर्वमा बढी दुर्घटना हुने गरेको छ,” उनले भने, “त्यसलाई न्यूनीकरण गर्ने विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको छ।”

खड्काका अनुसार सम्भावित दुर्घटनाका विषयमा उपत्यकाका तीनै जिल्लाको सहकार्यमा एकीकृत सुरक्षा योजना तर्जुमा भइरहेको छ। दशैँमा सजकतापूर्वक जाँच गरेर कडाइसाथ नियम पालना गराउन आफूहरू लागिपर्ने उनले बताए। प्रवक्ता खड्काले चाडबाडका बेलामा सवारी चालक एवं सहचालकलाई अझ बढी होसियारी पुर्‍याउन र यात्रुलाई पनि सजग रहन आग्रहसमेत गरे।

चाडपर्वलक्षित विशेष सुरक्षा योजना बनाइ लागू गर्न निर्देशन
निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा मंगलबार सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखलाई उनले यस्तो निर्देशन दिएका हुन्।

निमित्त प्रहरी महानिरीक्षक राईले आपराधिक क्रियाकलाप हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन, त्यस्ता गतिविधिको सूचना सङ्कलन तथा विश्लेषण गरी प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न पनि निर्देशन दिए। उनले चाडपर्वको समयमा सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकार भएका सबै पक्षसँग समन्वय र सहकार्य गर्न आग्रह गरे।

“चाडपर्व लक्षित चेतनामूलक कार्यक्रम सञ्चालन गर्न र आ–आफ्नो क्षेत्रमा तस्करी नियन्त्रणका लागि थप सक्रिय भई काम गर्नुस् । नागरिक सेवा चुस्त बनाउँदै प्रहरीप्रति  थप भरोसा र विश्वास बढाउने गरी केन्द्रित हुन आवश्यक छ”, उनले भने। 

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशीले अपराध नियन्त्रण एवं प्रभावकारी सुरक्षा व्यवस्थाको लागि गर्नुपर्ने कार्यलगायत समसामयिक विषयमा निर्देशन दिएका थिए।