हरिनी बनिन् श्रीलंकाको प्रधानमन्त्री

श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले हरिनी अमरसूर्यालाई प्रधानमन्त्री नियुक्त गरेका छन्।

श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले पूर्वप्राध्यापकबाट सांसद बनेकी हरिनी अमरसूर्यालाई मंगलबार प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। राष्ट्रपति निर्वाचनपछि पदबाट राजीनामा दिएका प्रधानमन्त्री दिनेश गुणवर्द्धनेको ठाउँमा दिसानायकेले अमरसूर्यालाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।

राष्ट्रपतिले उनलाई न्याय, शिक्षा, श्रम, उद्योग, विज्ञान तथा प्रविधि, स्वास्थ्य र लगानीजस्ता प्रमुख मन्त्रालयको जिम्मेवारी दिएका छन्। राष्ट्रपति दिसानायकेले नवनियुक्त प्रधानमन्त्री हरिनी अमरसूर्याले मंगलबार शपथ गराएका छन्।

सन् २००० मा सिरिमावो बन्दरनायकेपछि प्रधानमन्त्रीको पद सम्हाल्ने उनी पहिलो महिला नेता हुन्। सिरिमावो र चन्द्रिका बन्दरनायके कुमारतुंगापछि श्रीलंकाको प्रधानमन्त्री बन्ने उनी तेस्रो महिला हुन्।

उनी श्रीलंकाको १६औँ प्रधानमन्त्री नियुक्त भएकी हुन्। हरिनीले युवा विकास, बाल संरक्षण, लैंगिक असमानतालगायत सामाजिक न्यायका विषयमा वकालत गर्दै आएकी छन्। 

श्रीलंकामा छिट्टै संसदीय निर्वाचन हुने आकलन भइरहेको छ। यसबीचमा सानो आकारको मन्त्रिपरिषद् बनाइएको हो। 

राष्ट्रपति दिसानायकेले आफू राष्ट्रपतिमा निर्वाचित भएलगत्तै संसद् विघटन गर्ने संकेत गरेका थिए। 

भ्रष्टाचारविरोधी र गरिबीविरोधी नीतिका कारण हालैका वर्षमा चर्चामा आएका दिसानायके सन् २०२२ मा देशको अर्थतन्त्र धराशायी भएपछिको भएको पहिलो राष्ट्रपतीय निर्वाचनमा विजय भएका हुन्। सन् २०१९ को राष्ट्रपतीय चुनावमा जम्मा ३ प्रतिशत मत प्राप्त गरेका थिए।