कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनीका केही र सुदूरपश्चिमका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।  

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। 

जसको प्रभावले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनीका केही र सुदूरपश्चिमका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।  

दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। कोशीका तराई तथा मधेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।

यसैगरी राति, देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई तथा मधेशका केही स्थानमा हावाहुरी पनि चल्ने महाशाखाले जनाएको छ।