ला लिगा: एम्बापेको लगातार गोलमा रियल मड्रिड विजयी

रियल मड्रिड सात खेलमा १७ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। एक खेल कम खेलेको बार्सिलोना १८ अंकसहित शीर्षस्थानमा छ।

काठमाडौँ– ला लिगा फुटबलमा रियल मड्रिडले डेपोर्टिभो एलाभेसलाई हराएको छ। मंगलबार राति सान्टियागो बर्नबेउमा भएको खेलमा रियल ३–२ ले विजयी भएको हो।

घरेलु टोलीलाई चौथो जित दिलाउने क्रममा केलियन एम्बाप्पेले लगातार पाँचौँ खेलमा गोल गरे। एमबाप्पेले रियलका लागि यस सिजन नौ खेलमा सात गोल गरेका छन्। उनले पेरिस सेन्ट जर्मेनसँगको सम्झौताको म्याद सकिएपछि जुलाईमा रियलसँग पाँच वर्षको सम्झौता गरेका थिए।

रियलले लुकास भाजक्वेजको गोलमा खेलको पहिलो मिनेटमै अग्रता लिएको थियो। एम्बापेले ४०औँ र रोड्रिले ४८औँ मिनेटमा गोल गरे। एलाभेसका लागि कार्लोस बेनाभिडेजले ८५औँ र किका गार्सियाले ८६औँ मिनेटमा गोल फर्काएका थिए। 

यस जितसँगै रियल सात खेलमा १७ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। एक खेल कम खेलेको बार्सिलोना १८ अंकसहित शीर्षस्थानमा छ।

मंगलबारका अन्य खेलमा सेभियाले रियल भालाडोलिडलाई २–१ ले हराउँदा भ्यालेन्सिया र ओसासुनाले गोलरहित बराबरी खेलेका छन्।