सरकारले चालु आर्थिक वर्षका लागि भत्किएका तथा बिग्रिएका सडक मर्मत सम्भारका लागि ६ अर्ब बजेट विनियोजन गरेको छ।
काठमाडौँ– बडादशैँ शुरू हुन एक साता बाँकी छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दशैँमा १५ लाखदेखि १८ लाख मानिसले काठमाडौँ छाड्ने अनुमान गरेको छ। यसका लागि पाँच हजारदेखि ६ हजार सार्वजनिक सवारीसाधन तयारी अवस्थामा राखिएको छ। सरकारले दशैँमा काठमाडौँ छाड्नेका लागि लक्षितगरी असोज १२ गते शनिबारदेखि अग्रिम टिकट काट्न पाइने निर्णय गरेको छ।
दशैँका अवसरमा सार्वजनिक सवारीसाधनबाहेक पनि दुईपांग्रे र चारपांग्रे निजी सवारीमा काठमाडौँ छाड्ने र भित्रिनेको संख्या पनि लाखौँमा हुने गरेको छ। लाखौँ मानिस सवार हुने हजारौँ सवारीसाधनलाई थेग्नेगरी सडक संरचना निर्माण गरिएको छ त? जानकारहरू सडकको अवस्था राम्रो नभएको बताउँछन्। कतिपय स्थानमा सडक निर्माण भइरहेको छ भने कतिपय स्थानमा मर्मतसम्भारको काम चलिरहेको छ। विशेषगरी काठमाडौँ भित्रने प्रमुख नाका नागढुंगादेखि धादिङतर्फको सडकमा धमाधम स्तरोन्नति भइरहेको छ।
सडक विभागका प्रवक्ता उमेशविन्दु श्रेष्ठले सडक विभाग मातहत पर्ने भत्किएका तथा खाल्डाखुल्डी भएका ठाउँमा मर्मत भइरहेको बताए। “खानेपानी तथा विद्युत्का कारण पनि कतिपय स्थानमा सडक भत्काउँदा खाल्डाखुल्डी छन्, त्यस्ता स्थानमा मर्मतको जिम्मेवारी उहाँहरूकै हो,” उनले भने, “काठमाडौँ उपत्यकाको हकमा लक्ष्यभन्दा बढी प्रगति हासिल भइसकेको छ भने बाँकी काम दशैँसम्म सम्पन्न भइसक्नेगरी काम गरिरहेका छौँ।”
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालले चाडपर्वको छेकोमा यात्राका अवधिमा हुनसक्ने सम्भावित दुर्घटना रोक्न र यात्रुलाई आवतजावतमा सहज व्यवस्था गर्नका लागि सडक सुधारको योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा छलफल भइरहेको बताए।
“भौतिकमन्त्री देवेन्द्र दाहालको संयोजकत्वमा सातै प्रदेशका सरकारका सम्बन्धित मन्त्रीसहितको समिति बनेको छ, समितिको छलफल पनि भइरहेको छ,” उनले भने, “सरकार सडक सुरक्षालाई लिएर गम्भीरताका साथ काम गरिरहेको छ।”
उनका अनुसार दशैँसम्म तीन हजार ८५६.४१ किलोमिटर सडकलाई खाल्डोसहित बनाउने लक्ष्य लिइएको छ। जसमध्ये सोमबारसम्म ७७२.८५ किलोमिटर सडकमा काम भइसकेको छ। ढकालले सडक सुरक्षाको नीति कार्यान्वयन गर्न सम्बन्धित सरोकारवालासँग छलफल भइरहेको जानकारी दिए। “यात्रुको सुरक्षित र सहज यात्राका लागि यातायात व्यवसायी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, स्थानीय तह र नेपाल प्रहरी लगायतसँग छलफल भइसकेको छ,” उनले भने, “चाडपर्व लक्षित सडक सुरक्षा व्यवस्थापन गर्न अनुगमन कार्य चुस्त बनाउने हाम्रो योजना छ।”
चाडपर्वका बेलामा आवतजावत बढी हुने, गाडीको गति असीमित हुनसक्ने र दुर्घटनाको जोखिम बढ्नसक्ने उल्लेख गर्दै ढकालले उक्त समयमा निगरानी र अनुगमनलाई थप प्रभावकारी बनाइने बताउनुभयो। “सडक सुरक्षामा मानवीय पक्ष पनि जिम्मेवार हुन्छ। मानिसले आफ्नो दायित्व पूरा गरे मात्रै दुर्घटना न्यूनीकरण गर्न सकिन्छ, त्यसैले नागरिकका तहबाट पनि सहयोगको अपेक्षा गरिएको छ,” उनले भने।
सरकारले चालु आर्थिक वर्षका लागि भत्किएका तथा बिग्रिएका सडक मर्मत सम्भारका लागि ६ अर्ब बजेट विनियोजन गरेको छ। सडक विभागका अनुसार विभाग मातहत मुलुकभर १८ हजार ९७ किलोमिटर सडक छ। जसमध्ये सात हजार २६ किलोमिटर सडक मर्मतसम्भार हुने विभागका सूचना अधिकृत अमित शर्मा भुसालले जानकारी दिए।
पटके मर्मतसम्भार हुने (तत्काल मर्मत गर्ने) सडक पाँच हजार ६४६ किलोमिटर रहेको र आवधिक र पुनर्वासबाहेक मर्मत गर्नुपर्ने सडक ६ हजार किलोमिटर रहेको उनको भनाइ छ। “दशैँअघि तीन हजार ८५६ किमी सडकलाई खाल्डारहित बनाउने योजना छ। जसमध्ये सोमबारसम्म ७७२ किमीमा काम भइसकेको छ।” उनका अनुसार सडकमा भएका खाल्डाखुल्डी पुर्नका लागि १११ वटा ठेक्का लगाइएकामा हालसम्म जम्मा चार वटा ठेक्का सम्पन्न भइसकेका छन्।
उनका अनुसार काठमाडौँ भित्रिने प्रमुख मार्गमा नागढुंगा सुरुङमार्ग निर्माणका कारण भत्किएका सडक निर्माणको काम भने दशैँ अगाडि पूरा हुने अवस्था छैन। “नागढुंगा सडकखण्ड मर्मत नभई स्तरोन्नति गरिने भएकाले दशैँ अगाडि यो आयोजना पूरा हुने अवस्था छैन,” उनले भने, “मुग्लिङ–पोखरा सडकखण्डको पनि काम सकिने अवस्था नभएकाले यात्रामा केही असहजता भने हुने अनुमान छ।”
पूर्वाधारविद् राजेन्द्रराज शर्माले सडक निर्माणमा गुणस्तरमा ध्यान नदिने, क्षमताभन्दा बढी लोडको सवारीसाधन गुडाउने तथा अन्तरसरकारी निकायबीच प्रभावकारी समन्वयको अभावमा बर्सेनि यात्रुले दुःख पाउने गरेको बताए। “दिगो सडक निर्माणका लागि गुणस्तरमा विशेष ध्यान दिनुपर्छ, त्यसबाहेक भौगोलिक अवस्थाबारे पनि राम्रो अध्ययन तथा अनुसन्धान आवश्यक हुन्छ,” उनले भने।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काले दशैँमा आवतजावत गर्नेको संख्या बढ्ने हुँदा सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै व्यवस्थापन प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको बताए।
“सडक राम्रो नहुनु, सवारीसाधनको चाप बढी हुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु, हतारगरी यात्रु ओसारपसार गर्नु, बिग्रिएका सवारीसाधन सञ्चालन गर्नुलगायतका कारण दशैँमा दुर्घटनाको जोखिम बढी हुने गरेको छ,” उनले भने, “दुर्घटना रोक्नका उपत्यका तीनै जिल्लाको सहकार्यमा एकीकृत सुरक्षा योजना तर्जुमा भइरहेको छ। दशैँमा सजगताका साथ जाँचमा कडाइ गर्ने योजना छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
