५० वर्षअघि बुङमति चैत्यबाट चोरिएको बुद्धमूर्ति अमेरिकाबाट फिर्ता आउँदै

बुद्धमूर्ति फिर्ता हुने निर्णय सार्वजनिक भए पनि नेपाल ल्याउन कूटनीतिक र कानूनी प्रक्रिया बाँकी छ। अब पुरातत्त्व विभाग र कूटनीतिक नियोगको तदारुकता जरुरी छ।

ललितपुर– बुङमतीको ऐतिहासिक बौद्ध चैत्यबाट झण्डै ५० वर्षअघि चोरिएको र बेलायत हुँदै अमेरिका पुर्‍याइएको नवौँ शताब्दीको बुद्धमूर्ति नेपाल फर्काइने भएको छ।

युनिभर्सिटी अफ मिसिगन म्युजियम अफ आर्टमा रहेको बुद्धमूर्ति उत्पत्तिको पहिचान तथा प्रमाण पुष्टि भएपछि युनिभर्सिटीले उक्त मूर्ति नेपाल फिर्ता पठाउने भएको अमेरिकामा रहेकी कला–सम्पदा अध्येता एरिन एल.थम्सनले जानकारी दिइन्।  

सन् २०१६ मा उक्त मूर्ति एक दाताले उपहारका रूपमा युनिभर्सिटीलाई प्रदान गरेका थिए। ती दाताले उपलब्ध गराएको एक पर्चाअनुसार, सन् १९८८ मा लन्डनको एक सम्पदा खरिदबिक्री केन्द्रबाट उक्त बुद्धमूर्ति खरिद गरिएको थियो। सम्पदा पहिचान तथा प्रमाण जुटाउने क्रममा सन् ७० दशकको मध्यतिर बुङमतिको बौद्ध चैत्यबाट उक्त मूर्ति चोरिएको पुष्टि भएको थियो । 

बुङमतीका स्थानीय सम्पदाविद् अनिल तुलाधरले आफ्नो क्षेत्रबाट चोरिएको सम्पदाको प्रामाणिकता जुटाउन पहल गर्दै आएका थिए। सम्पदा खोजी र घरफिर्ती अभियानमा सम्बद्ध, लस्ट आर्टस् अफ नेपालले बुङमती बुद्धमूर्तिको चोरी तथा अवस्थितिका बारेमा सूचना दिँदै आएको थियो। यो बुद्धमूर्ति सन् २०१५ सेप्टेम्बरमा सम्पदा लिलामीगृह क्रिस्टिजको न्युयोर्क शाखामा बिक्री गरिएको पाइएको लस्ट आर्टस् अफ नेपालले जनाएको थियो। यो पुरातात्त्विक प्रतिमाबारे कला अन्वेषक लैनसिंह वाङदेलको ‘स्टोलन इमेजेज अफ नेपाल’(सन् १९८९) पुस्तकमा पनि उल्लेख गरिएको छ । 

“गत बर्ष अमेरिकाबाट आएकी कला अन्वेषक एरिन एल.थम्सनले बुङमती आएर हाम्रो बुद्धमूर्तिको प्रामाणिकतामा एक भिडियो बनाएर लगेकी थिइन्, मिसिगन युनिभर्सिटी म्युजियमबाटै हामीसँग प्रत्यक्ष भिडियो वार्ता पनि भएको थियो,” तुलाधरले उकालोसँग भने, “हाम्रो सम्पदाको प्रामाणिकता पुष्टि भएपछि अहिले घर फर्काइने निर्णय भएको रहेछ, अब पुरातत्त्व विभाग तथा अमेरिकामा रहेका कूटनीतिक नियोगको तदारुकता जरुरी देखिएको छ।” 

नेपाल सम्पदा पुनर्स्थापना अभियानको सल्लाहकारसमेत रहेकी थम्सनले पुरातात्त्विक महत्वका नेपाली सम्पदा संग्रह गर्ने अरू अमेरिकी संस्था वा व्यक्तिले पनि स्वैच्छिक रूपमा यस्तो सम्पत्ति नेपाल फर्काउन तदारुकता देखाउनुपर्ने प्रतिक्रिया दिइन् । “एउटा मूर्ति वा पुरातात्त्विक सम्पदा भनेको नेपालीले दिनहुँ पूजा गर्ने उनीहरूको सम्पत्ति हो,” थम्सनले भनिन्, “बुङगमतीको बुद्धमूर्ति स्वैच्छिक रूपमा घरफिर्ता पठाउने मिसिगन युनिभर्सिटीको निर्णयलाई अरू संग्रहकर्ताले पनि उदाहरणका रूपमा लिन सक्नुपर्छ।”

बुद्धमूर्ति फिर्ता हुने निर्णय सार्वजनिक भए पनि यसलाई नेपाल ल्याउन कूटनीतिक र कानूनी प्रक्रिया बाँकी छ। कति समयभित्र मूर्ति फिर्ता आउने र कहिले यथास्थानमा प्रतिस्थापन गरिने भन्नेबारे छलफल बाँकी रहेको तुलाधरले जानकारी दिए।