महाशिला गाउँपालिका: गाउँ फर्किनेलाई ६ महिनाको खाद्यान्न, १ लाख अनुदान

गाउँ फर्केकालाई खेतबारीमा अन्न फलाउन कम्तीमा ६ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यको भरण पोषणका निम्ति गाउँपालिकाले नै खाद्यान्न उपलब्ध गराउने छ।

पर्वत– आफू बसेको गाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किए पर्वतको  महाशिला गाउँपालिकाले १ लाख रुपैयाँ अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च प्रदान गर्ने भएको छ। 

गाउँलेहरू बसाइँ सर्न थालेपछि पालिकाले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए। गाउँपालिकाले चालु आर्थिक वर्षदेखि यो कार्यक्रम लागू गरेको हो। गाउँ छाडेर गएकाहरू फर्किएमा उनीहरूले अनुदान पाउने उनले बताए। 

गाउँ फर्केकालाई खेतबारीमा अन्न फलाउन कम्तीमा ६ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यको भरण पोषणका निम्ति गाउँपालिकाले नै खाद्यान्न उपलब्ध गराउने छ। चामल, दाल, तेल, तरकारीका निम्ति पनि अनुदान दिइने उनको भनाइ छ। 

अध्यक्ष भुसालका अनुसार एक वर्षमा यो पालिकाबाट ९३ परिवारका ३२५ जना बसाइँ सरेका छन्।