साफ यू–१७ च्याम्पियनसिप: भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा

फाइनल प्रवेशका लागि अब नेपालले समूह 'ए' को विजेता भारतसँग खेल्ने छ।

काठमाडाैँ– घरेलु टोली भुटानलाई पराजित गर्दै नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा भएको समूह 'बी' को अन्तिम खेलमा नेपालले भुटानमाथि २–१ को पुनरागमन जित हासिल गरेको हो।

खेलको ४३औँ मिनेटमा छिमी तोब्देन दोर्जीले गोल गर्दै भुटानलाई शुरूआती अग्रता दिलाएका थिए। ५५औँ मिनेटमा कृष्णबहादुर आलेले नेपालक लागि बराबरी गोल फर्काए। खेलको ८४औँ मिनेटमा सुजल डंगोलले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाए।

यो जितसँगै नेपाल तीन खेलबाट ६ अंक जोडेर समूह 'बी'को उपविजेताको रूपमा सेमिफाइनलमा पुगेको हो। दुई जित र एक बराबरीसहित ७ अंक जोडेको पाकिस्तान समूह 'बी'को विजेता बन्दै सेमिफाइनल प्रवेश गरिसकेको छ।

अब फाइनल प्रवेशका लागि नेपालले भारतसँग खेल्ने छ। भारत समूह 'ए' को विजेता हो। अघिल्लो संस्करणको फाइनलमा भारतले नेपाललाई पराजित गर्दै उपाधि हात पारेको थियो।