पदमार्ग विकास र विस्तार मापदण्डबारे अध्ययन गर्न समिति

पोखरामा सम्पन्न पर्यटन विषयगत समितिको बैठकले पदमार्ग विकास र विस्तार मापदण्डबारे  अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको छ।

गण्डकी– पर्यटनको राजधानी पोखरामा सम्पन्न पर्यटन विषयगत समितिको बैठकले पदमार्ग विकास र विस्तार मापदण्डबारे अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको छ।

संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बदीप्रसाद पाण्डेको अध्यक्षतामा प्रदेशका पर्यटनमन्त्री सम्मिलित विषयगत समितिको बैठकले उक्त निर्णय गरेको हो। बैठकका निर्णय सम्बन्धमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा मन्त्री पाण्डेले उक्त समितिले अध्ययन प्रतिवेदन तयार गरी आगामी पर्यटन विषयगत समितिको बैठकमा प्रस्तुत गर्ने बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवको नेतृत्वमा हुने उक्त समितिमा पर्यटन विभागका महानिर्देशक, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, टानका प्रतिनिधि, सातवटै प्रदेशका पर्यटन सचिव, गाउँपालिका र नगरपालिका महासंघका प्रतिनिधि रहने उनले जानकारी दिए।

विषयगत समितिको बैठक प्रत्येक तीन/तीन महिनामा फरकफरक प्रदेशमा बस्ने निर्णय गरिएको बताउँदै उनले आगामी बैठक लुम्बिनीको ठाकुरद्वारामा गर्ने तय भएको जानकारी दिए।

हवाई यातायातबाट आउने पर्यटकलेभन्दा स्थलमार्गबाट आउने पर्यटकले सुरक्षा जाँचलगायत विभिन्न समस्या झेल्नुपरेको अवस्था, भारतीय पर्यटकले २५ हजार रुपैयाँभन्दा बढी ल्याउन नपाउनेजस्ता जटिलतालगायत विषय बैठकमा उठेको उनले बताए। ती समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयसँग पहल गर्नुका साथै देखिएका समस्या समाधानका लागि प्रधानमन्त्रीको अध्यक्षतामा हुने समन्वय परिषद्को बैठकमा व्यवस्थित रुपमा प्रस्तुत गरिनेसमेत उनले जानकारी गराए।

यस्तै, पोखरा पर्यटन राजधानी घोषणा भएका सन्दर्भमा विद्यमान नीतिगत जटिलता, पूर्वतयारी, कानूनी प्रबन्धलगायत विषयमा अग्रसरता लिने सम्बन्धमा उनले प्रतिबद्धता व्यक्त गरे।