कालीगण्डकी करीडोर: चराङ–छोसेरखण्ड ८ वर्षसम्म अधुरै

लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी नर्बु गुरुङले सडक निर्माणमा भएको ढिलाइका कारण दुर्घटनाको जोखिम, खाल्डाखुल्डी, धुलो र हिलोले हैरान बनाएको बताए।

म्याग्दी– चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेरखण्डमा सडक निर्माण आठ वर्ष बित्दा पनि पूरा भएको छैन।  

६ वर्षअघि सकिनुपर्ने २५ किलोमिटर लामा सडक अधुरो हुँदा स्थानीय, पर्यटक र व्यवसायीलाई सास्ती भएको छ। लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी नर्बु गुरुङले सडक निर्माणमा भएको ढिलाइका कारण यातायात सञ्चालनमा समस्या, दुर्घटनाको जोखिम, खाल्डाखुल्डी, धुलो र हिलोले हैरान बनाएको बताए। “२०७३ सालमा शुरू भएको सडकको कामले अझै पूर्णता पाएको छैन,” उनले भने, “डेढ वर्षपछि गत आर्थिक वर्षको अन्तिममा कार्यक्षेत्रमा आएका व्यवसायीले सडक निर्माणको कामलाई गति दिन सकेका छैनन्।” 

लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङदेखि लोमान्थाङ गाउँपालिका–१ छोसेरको नेचुङ जोड्ने २५ किलोमिटर सडक स्तरोन्नति गर्न तामाङ–गौरी–पार्वति–कोशी एन्ड न्यौपाने जेभीले २६ करोड रुपैयाँमा ठेक्का लिएको थियो। चराङमा कुलो र ढलको काम बाँकी छ। अरू ठाउँमा कटिङ र फिनिसिङ बाँकी छ। 

२०७५ साउनमा सम्पन्न गर्ने लक्ष्य राखिएको यस खण्डको भौतिक प्रगति करिब ९२ प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईंले बताए। सडक ११ मिटर फराकिलो बनाउने, नाली र पर्खाल निर्माण गरी ग्राभेल गर्ने लक्ष्य छ। सूचना अधिकारी चापागाईंले बाँकी कामलाई छिटो पूर्णता दिन ताकेता गरिएको बताए।

मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरला नाका जोड्ने ११० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले २०७२/७३ देखि सातवटा खण्डमा ठेक्का लगाएको थियो। 

जोमसोम–कोरला सडकको ६ वटा प्याकेजको ७५ किलोमिटर सडक विस्तार, पर्खाल, नाली निर्माण, घुम्ती र ग्रेड सुधार गरी ग्राभेल गर्ने काम सकिएको छ। यहाँ स्तरोन्नतिका लागि दुई अर्ब ६ करोड बजेट विनियोजन भएको थियो।