सर्लाहीमा गोली चल्दा १ जनाको मृत्यु, १ घाइते

वैदेशिक रोजगारीमा रहेका श्रीमान्‌ले घर आएर श्रीमतीसँग विवाद गरी गोली हानेको हुनसक्ने प्रहरीले जनाएको छ।

प्रतीकात्मक तस्वीर

बरहथवा– सर्लाहीको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा गोली चल्दा एक महिलाको मृत्यु भएको छ। अर्का एक जना घाइते छन्। 

बिहीबार बिहान १ बजेतिर गोली लागेर हरिपुर्वा नगरपालिका– ५ की २३ वर्षीया चित्रलेखा यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

गोली चलाउने व्यक्ति चित्रलेखाका आफ्नै श्रीमान्‌ हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। उनीहरूबीच घरायसी विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी श्रेष्ठले बताए। 

वैदेशिक रोजगारीमा रहेका श्रीमान्‌ले घर आएर श्रीमतीसँग विवाद गरी गोली हानेको हुनसक्ने श्रेष्ठले बताए। गोली लागेर चित्रलेखाका ससुरा ५४ वर्षीय रामदिनेश यादव घाइते भएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।