बुकीमा चरेका च्यांग्राको माग उच्च

मुस्ताङबाट गत वर्ष २० करोडभन्दा बढी मूल्य बराबरको सात हजार च्यांग्रा निकासी भएको थियो। यसपालिको दशैँ तिहारका लागि १० देखि ११ हजार च्यांग्रा निकासी हुने अनुमान छ।

म्याग्दी– मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका डिण्डुप गुरुङको गोठमा १५०  च्यांग्रा छन्। घुम्ती गोठमा पालेको च्यांग्रा बेचेर उनले छोराछोरी पढाउने र घर व्यवहार चलाउने खर्च जुटाउने गरेका छन्। 

“वर्षमा ४०  जति च्यांग्रा बिक्री हुन्छ,” उनले भने “घर व्यवहार चलाउने र छोराछोरी पढाउने खर्च च्यांग्रा पालनबाटै जुटाउने गरेको छु।” ३५ वर्षीय डिण्डुपले विदेश नगई पुर्खाले गर्दै आएको च्यांग्रापालनलाई निरन्तरता दिएका हुन्। 

याराका डिण्डुपले जस्तै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको प्रायजसो घरमा च्यांग्रा पालेका छन्। दशैँ तिहारमा पोखरा, काठमाडौँलगायत देशका विभिन्न जिल्लामा मासुका लागि मुस्ताङका किसानले पालेका च्यांग्राको उच्च माग हुन्छ। 

सडक यातायात र बजारको सुविधासँगै च्यांग्रा पाल्ने पेसा व्यावसायिक बन्न थालेको लोघेकर दामोदरकुण्ड –४ घाराका पेमा छिरिङ गुरुङले बताए। “पहिले दशैँ तिहारका लागि एक महिना पहिले नै च्यांग्रा हिँडाएर म्याग्दी, पर्वत, बागलुङ, कास्कीका गाउँबस्ती र पोखरामा लैजाने गरिन्थ्यो,” उनले भने “अहिले गाउँबाटै प्रतिगोटा ३३ देखि ३५ हजारमा च्यांग्रा बिक्री भइरहेको छ।”

तीन वर्ष पुरा भएका च्यांग्रा मासुका लागि बिक्री हुने गर्छ। जडिबुटीयुक्त बुकीमा चरेका च्यांग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ। दशैँ तिहारमा हिमाली च्यांग्राको मासुको खपत बढी हुने गर्छ। बर्खामा समुन्द्र सतहदेखि ६ हजार मिटर उचाइको हिमालको फेदमा पुग्ने च्यांग्रा गोठ असोज लागेपछि बेँसीतर्फ झार्ने गर्छन्। 

तीन/चारवटा घरले वार्षिक रूपमा १ लाख ५० हजार रुपैयाँ ज्याला दिएर च्यांग्रा हेर्न गोठाला राखेका छन्। स्थानीयका साथै म्याग्दी, बागलुङ, रुकुम, रोल्पा, धादिङबाट कामको खोजीमा मुस्ताङ पुग्नेहरू च्यांग्रा गोठाला बस्ने गर्छन्।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार मुस्ताङमा १२ वटा मिश्रित ठूला च्यांग्रा फार्म छन्। २० देखि ५० वटाको संख्यामा च्यांग्रा पाल्ने कृषकको संख्या धेरै रहेको केन्द्रका प्रमुख पशु चिकित्सक डा. लालमणी अर्यालले बताए। उनका अनुसार मुस्ताङमा हाल ५० हजार च्यांग्रा पालिएको छ। थासाङ बाहेक, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा व्यावसायिक च्यांग्रापालन भएको छ। यस वर्षको दशैँ तिहारका लागि मुस्ताङबाट च्यांग्रा निकासी हुन थालेको छ। 

बुधबारसम्म ३९७  च्यांग्रा निकासी गर्न स्वास्थ्य परीक्षण गरि सिफारिस दिएको केन्द्रका प्रमुख अर्यालले बताए। स्वास्थ्य परीक्षण गरेर निरोगी पशु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ। 

स्थानीय व्यापारीले गाउँका किसानबाट खरिद गरेर जोमसोममा च्यांग्रा ल्याउन थालेका छन्। देशका विभिन्न ठाउँका व्यापारीले जोमसोममा खरिद गरेका च्यांग्रा हिँडाएर म्याग्दीको बेनीसम्म ल्याउँछन्। 

बेनीदेखि ट्रकमा राखेर देशका विभिन्न बजारमा च्यांग्रा लैजाने गर्छन्। मुस्ताङबाट गत वर्ष २० करोडभन्दा बढी मूल्य बराबरको सात हजार च्यांग्रा निकासी भएको थियो। यसपालिको दशैँ तिहारका लागि १० देखि ११ हजार च्यांग्रा निकासी हुने अनुमान गरिएको केन्द्रका प्रमुख अर्यालले बताउनुभयो। मुगु र डोल्पाको च्यांग्रा पनि मुस्ताङ हुँदै बजार पठाउने गर्छन्। 

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको च्यांग्रा जोन र स्थानीय तहका पशु सेवा शाखाले मुस्ताङमा च्यांग्रापालन विस्तार र प्रर्वद्धन सम्बन्धी कार्यक्रममा जोड दिएका छन्। 

पीपीआर रोग विरुद्धको निःशुल्क खोप लगाउने व्यवस्था मिलाएको भेटेरीनरी अस्पतालले च्यांग्राको नश्ल सुधार गर्न स्रोत केन्द्र स्थापना गर्ने, घुम्ती गोठ सुधार र घुम्ति पशु स्वास्थ्य शिविर सञ्चालन गरेको प्रमुख अर्यालले बताए। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको च्यांग्रा जोन कार्यक्रमले परम्परागत रूपमा हुँदै आएको च्यांग्रापालनलाई व्यवस्थित र व्यावसायिक बनाई गुणस्तरीय मासु, ऊन र पश्मिना उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ चार वर्षअघिदेखि लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा विभिन्न गतिबिधी गर्दै आएको छ। 

च्यांग्राको पाठापाठी उत्पादनका लागि स्रोत केन्द्र स्थापना गर्नुका साथै च्यांग्रालाई वन्यजन्तुको आक्रमण र हिउँद याममा चिसोबाट बचाउन खोर सुधार गर्न जोड दिइएको परियोजनाका प्रमुख नेत्र भट्टले बताए।

हिमचितुवाको आक्रमणबाट च्यांग्रा मर्ने समस्या र हिउँदको समयमा आहारको व्यवस्थापन मुस्ताङको च्यांग्रापालनमा चुनौतीका रूपमा देखिएको किसान तथा कृषि प्राविधिकले बताएका छन्।