मेक्सिकोमा सुरक्षाकर्मीको गोली लागेर ११ बन्दुकधारीको मृत्यु

सुरक्षाकर्मीले करिब आठवटा ट्रकमा यात्रा गरिरहेका बन्दुकधारीलाई लखेट्ने क्रममा लस रामोनेस नगरपालिकामा गोली हानाहान भएको थियो।

मेक्सिकोको उत्तरपूर्वी क्षेत्रमा सुरक्षा फौजको कारबाहीमा ११ जना बन्दुकधारीको मृत्यु भएको छ।

सुरक्षाकर्मीले एक सशस्त्र समूहलाई पछ्याउने क्रममा भएको झडपमा ११ बन्दुकधारीको मृत्यु भएको नुएभो लियोन राज्य सरकारले जनाएको छ। 

सुरक्षाकर्मीले उक्त सशस्त्र समूहबाट हतियार र सवारी साधनसमेत जफत गरेका छन्। कमान्ड पोस्टमा आक्रमण भएपछि हवाई र स्थलमार्गबाट खोजी शुरू गरिएको राज्य सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

सुरक्षाकर्मीले करिब आठवटा पिकअप ट्रकमा यात्रा गरिरहेका बन्दुकधारीलाई लखेट्ने क्रममा लस रामोनेस नगरपालिकामा गोली हानाहान भएको थियो।

मेक्सिकोमा सुरक्षा बल र संदिग्ध कार्टेल सदस्यहरूबीच भिडन्त हुने गरेको छ। सन् २००६ देखि अहिलेसम्म चार लाख ५० हजारभन्दा बढी मानिसको सशस्त्र झडपमा मृत्यु भइसकेको छ।

देशको सबैभन्दा शक्तिशाली र हिंस्रक लागूऔषध गिरोहमध्येको एक उत्तरपश्चिमी राज्य सिनालोआमा लागूऔषधको ओसारपसार गर्ने समूहमा आन्तरिक कलहका कारण यो महिना दर्जनौँ व्यक्तिको मृत्यु भएको छ।