स्थानीय तह उपनिर्वाचन : मंसिर २ गते उम्मेदवारी दर्ता

मंसिर १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि २ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तय गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले बताए।

काठमाडौँ– मंसिर १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ।

निर्वाचन आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता हुने जनाएको हो।

मंसिर २ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तय गरिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद सापकोटाले बताए।

सापकोटाका अनुसार ३ गते उम्मेदवारको विरोधमा उजुरी दिने सकिने र ४ गते बेलुकासम्म उजुरीउपर जाँचबुझ गरी निर्णय लिइने छ। 

मंसिर ५ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन्। सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने प्रवक्ता सापकोटाले जानकारी दिए। मंसिर १६ गते बिहान ७ देखि ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ।

स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचन हुन लागेको हो।