आगामी निर्वाचनमा कमला ह्यारिसलाई सघाउने गायिका टेलर स्विफ्टको घोषणा राष्ट्रपतिका प्रत्यासीहरूको बहस जत्तिकै चर्चित भयो। अमेरिकामा सेलब्रिटीले राष्ट्रपतिको उम्मेदवारलाई सहयोग गर्ने यो अभ्यास पुरानै हो।
अमेरिकाको फिलाडेल्फियास्थित ‘नेसनल कन्स्टिट्युसन सेन्टर’मा डेढ घण्टा लामो ‘प्रेसिडेन्सियल डिबेट’ सकाएर गत सेप्टेम्बर १० मा उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प भर्खरै मात्र बाहिरिएका थिए, त्यही बेला नेपालको जनसंख्याभन्दा ९ गुणा बढी ‘फलोअर्स’ भएको आफ्नो इन्स्टाग्राममार्फत गायिका टेलर स्विफ्टले राष्ट्रपतिको निर्वाचनमा ह्यारिसलाई सघाउने घोषणा गरिन्। इन्स्टाग्राममा बिरालो बोकेको तस्वीर राखेर उनले ‘क्याप्सन’ लेखेकी थिइन्, “म कमला ह्यारिसलाई समर्थन गर्छु, किनभने उनी हाम्रो अधिकारका पक्षमा उभिएकी छन्। उनी अटल, निश्चल र प्रतिभाशाली नेता हुन्। र मलाई विश्वास छ– यो मुलुकले शान्त नेतृत्वबाट लाभ लिनसक्छ, अराजकहरूबाट हैन।”
गत अगस्टमा स्विफ्टले ट्रम्पलाई सहयोग गर्ने हल्ला फैलिएको थियो। ट्रम्पलाई भोट मागेको एआई निर्मित उनको तस्वीर इन्स्टाग्राम र एक्स (ट्विटर)मा जताततै देखिन्थ्यो। यसबाट मिथ्या सूचना फैलिने खतराप्रति उनी सशंकित थिइन्। उनले लेखिकी छन्, ‘मिथ्या सूचनालाई प्रतिवाद गर्ने भनेको सत्य सूचनामार्फत हो।’

ह्यारिसलाई सघाउने स्विफ्टको घोषणा राष्ट्रपतिका प्रत्यासीहरूको बहस जत्तिकै चर्चित भयो। सामाजिक सञ्जाल र सञ्चारमाध्यम उनका समाचारले भरिए।
अमेरिकी इतिहासमा ‘सेलब्रिटी’ले राष्ट्रपतिको उम्मेदवारलाई सहयोग गरेको यो पहिलो उदाहरण हैन, पुरानै अभ्यास हो। नर्थवेस्टर्न विश्वविद्यालयका प्राध्यापक तथा लेखक क्रेग गर्थवेट र मेरिल्यान्ड विश्वविद्यालयका प्राध्यापक टिमोथी मुरले सन् २०१३ मा लेखेको एक प्राज्ञिक लेखअनुसार सन् १९२० को राष्ट्रपतीय निर्वाचनदेखि सेलब्रिटीले राष्ट्रपतिका उम्मेदवारलाई सार्वजनिक समर्थन गर्न थालेका हुन्।
त्यतिबेला रिपब्लिकन उम्मेदवार वारेन हार्डिङलाई अल जोल्सन र मेरी पिकफोर्ड जस्ता प्रसिद्ध अभिनेताले समर्थन गरेका थिए। लामो समय पत्रकारिता गरेका हार्डिङलाई निर्वाचनका समयमा मिडिया र सेलब्रिटीले महत्त्वपूर्ण भूमिका निभाउन सक्छन् भनेर थाहा नहुने कुरा भएन। उनले आफ्ना विशाल सभाहरूमा त्यस समयका महँगा सेलब्रिटी जोल्सनलाई उभ्याइदिए। उनी त्यस समयका चर्चित गायक, कमेडियन र नायक थिए।
जोल्सनले उनका लागि गीतसमेत बनाए। मिठो भाकामा गाइएको उक्त गीतको शुरूआतमा हार्डिङलाई अमेरिकाको मार्गदर्शकका रूपमा व्याख्या गरिएको छ। एउटा जाज्वल्यमान नेताको आवश्यकता हुँदा आफूहरूले उनलाई रोजेको बताइएको छ।
उक्त गीतको शीर्षक हो– हार्डिङ, यु आर द म्यान अफ अस।
हार्डिङलाई भोट माग्न जोल्सन अहरोत्र खटिएका थिए। एकपटक उनी आफ्ना ७० जना साथी लिएर न्युयोर्क हुँदै रेलमा ओहायोसमेत पुगे। हार्डिङको घर ओहायोमा थियो। रेलबाट उत्रिएर त्यो टोली उनको घरतर्फ लाग्यो। बाटोमा उनीहरूले ठूलोठूलो आवाजमा नाचगानसहित हर्षबढाइँ गरे, भेटिएका सबैलाई राष्ट्रपतिमा हार्डिङलाई सघाउन आग्रह गरे। उनीहरूले आफू हिँडेको त्यो बाटोको नामसमेत परिवर्तन गरेर ‘भिक्ट्री वे’ राखिदिएका थिए।
हार्डिङले अरू पनि थुप्रै सेलब्रिटीलाई आफ्नो पक्षमा लिए, उनीहरू थिए– डग्लास फेयरब्याङ्क्स, लिलियन गिश, पर्ल ह्वाइट र मेरी पिकफोर्ड।
हार्डिङलाई त्यतिबेलाकी चर्चित ओपेरा गायिका लिलियन रसेलको पनि सहयोग थियो। उनलाई धेरैले फिल्म स्टारको रूपमा पनि चिन्छन्। हार्डिङको चुनावी अभियानमा उनले थुप्रै ठाउँ पुगेर भाषण गरिन्। विभिन्न शहर पुगेर हरेक दिन तीन–चार वटा भाषण गर्थिन्। उनले अभियानको दौरान १५ वटा राज्यमा भाषण गरेकी थिइन्। एउटा शहरबाट अर्को शहर, एउटा राज्यबाट अर्को राज्यमा पुग्दाको अनुभवबारे उनले भनेकी छन्, ‘यताउता हाम्फालिरहेँ, मैले आफूलाई फट्यांग्रोजस्तो पाएँ।’
विश्व चर्चित गायक फ्य्रांक सिनाट्रा सन् १९६० मा डेमोक्र्याट उम्मेदवार जोन अफ केनेडीका पक्षमा खरो ढंगले उत्रिए। उनले सांगीतिक कार्यक्रमको मञ्चबाट केनेडीलाई आगामी राष्ट्रपतिका रूपमा नै चिनाएका थिए। १९६० फेब्रुअरीको पहिलो हप्तातिर म्यासाचुसेट्सका सिनेटर र राष्ट्रपति पदका उम्मेदवार केनेडी लस भेगासको स्यान्ड्स होटल गएका थिए। त्यहाँ सिनाट्रा र र्याट प्याकका अन्य कलाकारहरूको ‘शो’ आयोजना गरिएको थियो। कार्यक्रम चलिरहँदा सिनाट्राले मञ्च नजिक बसेका केनेडीलाई औँल्याउँदै भनेका थिए– उहाँ संयुक्त राज्य अमेरिकाको आगामी राष्ट्रपति।
सिनाट्राले सन् १९५९ को चर्चित अमेरिकन कमेडी सिनेमा ‘अ होल इन द हेड’मा राखिएको ‘हाई होप्स’ गीतको प्यारोडी बनाई केनेडीको चुनावी अभियानमा गाएका थिए। उक्त गीतमा केनेडीलाई भोट हालेर अमेरिकालाई प्रभावशाली बनाइराख्न आग्रह गरिएको थियो।
केनेडी र सिनाट्राबीचको मित्रता लामो समय टिकेन। राष्ट्रपति भएको लगभग डेढ वर्षपछि केनेडीले बिस्तारै उनीसँग बोलचाल बन्द गरे। विभिन्न आपराधिक समूहसँग सिनाट्राको हिमचिमले केनेडी चिढिएका थिए। केनेडी सन् १९६२ मा क्यालिफोर्नियास्थित पाम स्प्रिङ्स गएका थिए, सिनाट्राको घर पनि त्यहीँ थियो। सिनाट्राले आफ्नो घरमा केनेडीको सत्कारका निम्ति सबैथोक बन्दोबस्त मिलाए, यहाँसम्म कि घरमा हेलिकोप्टर बसाउन हेलिप्याडसमेत बनाउन लगाए। तर अन्तिम समयमा केनेडी उनको घर गएनन्, बरु अर्का गायक बिङ क्रज्बीको घरमा पुगे। केनेडी घरमा नआएपछि सिनाट्राले घनले हानेर हेलिप्याड भत्काए। त्यसपछि यी दुई मित्रको सम्बन्ध कहिल्यै सुधार भएन।
केही सेलब्रिटीले लामो समयदेखि एउटै दललाई सहयोग गरिरहेका छन्। त्यसमध्ये एक हुन्– ओप्रा विनफ्रे। उनलाई धेरैले ‘क्विन अफ डे टाइम टेलिभिजन’ भनेर चिन्छन्। कुनै समय अमेरिकीहरूमा उनको प्रभाव यति धेरै थियो कि, इतिहासमा त्यस्तो प्रभाव कुनै ‘टक शो’ प्रस्तोताको पनि थिएन।
ओप्रामाथि २००८ मा प्रकाशित एक लेखमा ‘पोलिटिको’ म्यागेजिनले भनेको छ, “एक सर्वेक्षणअनुसार धेरै अमेरिकीले पछिल्ला वर्षमा ओप्रालाई अत्यधिक मन पराउँछन्। १९९७ डिसेम्बरमा एनबीसी न्यूज र वाल स्ट्रिट जर्नलद्वारा गरिएको सर्वेक्षणअनुसार राष्ट्रपति बिल क्लिन्टन, पूर्वराष्ट्रपति रोनाल्ड रेगन र माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई भन्दा धेरै मानिसले ओप्राको प्रशंसा गरेका थिए।”
क्रेग र टिमोथीले सन् २०१३ मा गरेको अनुसन्धानअनुसार ओप्राका कारण २००८ मा बाराक ओबामाले १० लाख मत बढी पाएका थिए। विगतमा जस्तो अमेरिकामा ओप्राको हाईहाई नभए पनि उनको आह्वानले यतिबेला पनि ठूलो संख्यामा मानिसलाई प्रभाव पार्नसक्ने बताइन्छ।
टेलिभिजन प्रोड्युसर, नायिका तथा लेखकसमेत रहेकी ओप्राले अहिले कमला ह्यारिसलाई सहयोग गर्ने घोषणा गरेकी छन्। उनले २००८ मा डेमोक्य्राट उम्मेदवार बाराक ओबामालाई भोट मागेकी थिइन्। राजनीतिज्ञप्रति खुलारूपमा उनले पक्षधरता देखाएको त्यो पहिलो पटक थियो। सन् २०२० मा पनि उनले जो बोइडेनलाई सहयोग गरेकी थिइन्।
सेलब्रिटीको राजनीतिक सहयोगको चर्चा गर्दा छुटाउन नहुने नाम हो– माइकल जोर्डन। सन् १९९५ मा शाम स्मिथको ‘सेकेन्ड कमिङ’ पुस्तक प्रकाशित भयो। यो पुस्तकले जोर्डनको खेल जीवनका विभिन्न आयामलाई बाहिर ल्याएको छ। सन् १९९० मा नर्थ क्यारोलाइना राज्यको सिनेटका लागि हार्भे गान्ट र जेस्सी हेल्म्स चुनावी प्रतिस्पर्धामा थिए। त्यतिबेला उनकी आमाले उनलाई ‘डेमोक्य्राट उम्मेदवार गान्टका पक्षमा लाग्ने हो’ भनेर प्रश्न गरेकी थिइन्। गान्ट र जोर्डन दुवैको परिवार अश्वेत भएकाले पनि उनकी आमाले उत्सुकता देखाएकी थिइन्। जोर्डनको जवाफ थियो, “रिपब्लिकनले पनि जुत्ताचप्पल किन्छन्।”
जोर्डनले यस्तो जवाफ दिनुको कारण उनी त्यतिबेला ‘एयर जोर्डन स्निकर्स’सँग अनुबन्धित थिए। राजनीतिक झुकाव देखाएर उनले आफ्नो व्यापार डामाडोल पार्न चाहेनन्। कसैलाई सहयोग नगर्दा राजनीतिक रूपमा तटस्थ पनि भइन्थ्यो।
सन् २०२० मा जोर्डनमाथि बनेको डकुमेन्ट्री ‘द लास्ट डान्स’ सार्वजानिक भयो। राजनीतिमा आफ्नो असंग्लनताबारे उनले डकुमेन्ट्रीमा भनेका छन्, “म आफूलाई कहिले पनि एक्टिभिस्ट ठान्दिनँ। म एक बास्केट बल खेलाडी मात्र हुँ।” यो डकुमेन्ट्री सार्वजानिक भएपछि अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले सामाजिक मुद्दामा तटस्थ रहने जोर्डनको निर्णयलाई आलोचना गरे। तर जोर्डनले ‘मैले के गर्नुपर्छ वा के गर्नु हुँदैन भन्नेबारे मानिसका आ–आफ्ना विचार छन्’ भन्दै ओबामाको आलोचनालाई टारिदिए।
अहिलेका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पलाई पनि विभिन्न सेलब्रिटीले सहयोग गरेका छन्। स्विफ्टले ह्यारिसलाई सहयोग गर्ने भएपछि ट्रम्प पनि प्रभावकारी सेलब्रिटीको खोजीमा थिए। यस सिलसिलामा उनलाई सहयोग गर्न आइपुगे– अमेरिकी गायक निक्की जाम। तर उनको साथ फलदायी रहेन। आफूलाई सहयोग गर्ने गायकलाई स्वयं ट्रम्पले समेत चिनेका थिएनन्। लस भेगसमा भएको एक कार्यक्रममा जामले ट्रम्पलाई समर्थनको घोषणा गर्ने योजना थियो। तर ट्रम्पले मञ्चबाट जामलाई महिला ठानेर सम्बोधन गरेपछि धेरैले खिल्ली उडाए। यो घटनाले ट्रम्प र जाम दुवैलाई घाटा भयो।
जामले सन् २०१६ मा मेक्सिकोको प्रख्यात ब्यान्ड ‘माना’सँगको सहकार्यमा एउटा गीत बनाएका थिए। तर अहिले जामले ट्रम्पलाई समर्थन गरेपछि ब्यान्डले ‘रेसिस्ट’सँग काम नगर्ने भन्दै सबै डिजिटल प्लेटफर्मबाट उक्त गीत हटाएको छ। जामले इन्स्टाग्रामबाट ट्रम्पलाई समर्थन गर्दाको भिडियो पनि केही दिनअगाडि हटाइदिए।
यता स्विफ्टको घोषणाले ह्यारिसलाई भने फाइदा पुगेको छ। उनका प्रसशंकहरू ह्यारिसको सहयोगमा उत्रिसकेका छन्। उनीहरूले यतिबेला ‘स्विफ्टिज’ संस्था बनाएर ह्यारिसका निम्ति सहयोगसमेत जुटाइरहेका छन्। गत सेप्टेम्बर ११ मा ‘द गार्जियन’मा प्रकाशित एक लेखअनुसार ह्यारिसको चुनावी अभियानका निम्ति १ लाख ५० हजार डलर उठेको छ। उक्त संस्थाकी सह–संस्थापक तथा कार्यकारी निर्देशक आइरेन किमले गार्जियनसँग भनेकी छन्, “उपयुक्त समयमा स्विफ्टले बोल्छिन् भन्नेमा हामी ढुक्क थियौँ। उनको घोषणाले हामी उत्साहित छौँ।”
सेलब्रिटीको आह्वानले मतमा फरक पार्छ कि पार्दैन भनेर ‘प्यु रिसर्च’ले सन् २००७ मा अध्ययन गरेको थियो। ओप्रालाई केन्द्रमा राखिएको त्यस अध्ययनअनुसार त्यतिबेला ७० प्रतिशत अमेरिकनले उनको आह्वानले खास फरक नपार्ने प्रतिक्रिया दिएका थिए। तर राष्ट्रपतीय निर्वाचनको परिणाममा भने ओप्राको आह्वानले फरक पारेको देखियो। उनको कारण ओबामाको भोट बढेको विभिन्न अध्ययनले समेत पुष्टि गरे। यही परिदृष्यको अनुमान लगाउँदै ‘फाइनान्सियल टाइम्स’ले केही दिनअगाडि लेख्यो, “विन्फ्रेको समर्थनले नोभेम्बरमा हालकी उपराष्ट्रपतिलाई राष्ट्रपतिको रूपमा ह्वाइट हाउस पुर्याउने सम्भावना बढेको छ।”
अमेरिकी नयाँ पुस्तामा विन्फ्रेभन्दा स्विफ्टको प्रभाव ठूलो देखिन्छ। यसकारण स्विफ्टको सहयोग ह्यारिसका लागि महत्त्वपूर्ण छ।
फोर्ब्सले सन् २०२३ मा सार्वजानिक गरेको एक अध्ययनअनुसार ५३ प्रतिशत अमेरिकी तन्नेरी स्विफ्टको प्रसंशक थिए। १६ प्रतिशतले उनलाई अत्यधिक मन पराउँथे र यसमध्ये ४४ प्रतिशतले आफूलाई ‘स्विफ्टिज’ भनेर चिनाउन रूचाउँथे। यति ठूलो युवापुस्तालाई उनको आह्वानले सहजै प्रभाव पार्नसक्ने विश्लेषण हुने गरेको छ।
सन् २०२३ मा स्विफ्टको एउटा आह्वानले अमेरिकी मतादाताको संख्या नै बढाइदियो। उनले इन्स्टाग्राममार्फत ‘भोट डट ओआरजी’मा आफ्नो नाम दर्ता गर्न आग्रह गरेकी थिइन्। उनले लेखेकी थिइन्, “मेरा कार्यक्रममा तपाईंहरूमध्ये धेरैलाई देख्न पाउँदा म भाग्यमानी महसुस गर्छु। मैले तपाईंको आवाज सुनेको छु र तपाईंको आवाज कति सशक्त छ भन्ने मलाई थाहा छ। आगामी चुनावमा आफ्नो आवाज प्रयोग गर्न तयार बन्नुहोस्।”
उनले इन्स्टाग्राममा ‘भोट डट ओआरजी’को लिंकसमेत राखेकी थिइन्। उनले लेखेको एक घण्टाभित्र ३५ हजार नयाँ मतादाता थपिएका थिए।
हार्वड विश्वविद्यालयको ‘एस सेन्टर फर डेमोक्रेटिक गभर्नेन्स एन्ड इनोभेसन’को नयाँ अध्ययनले समेत नागरिक सहभागिता बढाउन सेलब्रिटीको भूमिका प्रभावशाली हुने तथ्य सार्वजानिक गरेको छ। ५३ पेजको उक्त रिपोर्टमा भनिएको छ, “केही सर्वेक्षणले राजनीतिक सवालमा मानिस सेलब्रिटीबाट प्रभावित नहुने बताउँछ तर त्यस्तो हैन रहेछ। सशक्त प्रमाणहरूले के देखाउँछन् भने, सेलब्रिटीको आवाज अविश्वसनीय रूपमा शक्तिशाली हुन्छ।”
रिपोर्टअनुसार अमेरिकनको दैनन्दिनमा सेलब्रिटीले ठूलो भूमिका खेल्छन्। “मानिसले के किन्ने, लगाउने र के कुरा गर्ने भन्ने विषयमा प्रभाव पारेर तिनीहरूले अमेरिकी संस्कृतिलाई आकार दिन्छन्। उनीहरू अमेरिकी संस्कृतिमा अतुलनीय शक्ति हुन्। उनीहरूको प्रभाव ठूलो हुन्छ। त्यसकारण, सामाजिक र राजनीतिक मुद्दामा उनीहरू सशक्त पैरवीकर्ता हुन्,” रिपोर्टमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
किरण दहाल
