१ महिनामा भित्रियो १ खर्ब ३६ अर्ब रेमिट्यान्स

अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक अर्ब दुई करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो।

काठमाडौँ– चालु आर्थिक वर्षको पहिलो महिनामा एक खर्ब ३६ अर्ब ९३ करोडको विप्रेषण (रेमिट्यान्स) देशभित्र भित्रिएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार, समीक्षा अवधिमा विप्रेषण आप्रवाह १८ प्रतिशतले वृद्धि भएको हो।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक अर्ब दुई करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३९ हजार १५२ र १६ हजार ४२३ थियो।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) एक खर्ब ४८ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय एक खर्ब २८ अर्ब २१ करोड रुपैयाँ थियो।