नेपालमा गोताखोरः जोखिम र सकसको सेवा, प्रोत्साहन शून्य

धमिलो पानीमा देख्नै सकिन्न। नदीको वेगमा अडिन मुस्किल पर्छ। पानीभित्रको चापले नसाहरू फुट्ने, कानको समस्या आउनेजस्ता स्वास्थ्य जोखिम छँदै छन्। तापनि अतिरिक्त सुविधाबिनै गोताखोरहरू निरन्तर खटिएका छन्।

काठमाडौँ– उनीहरू २४ घण्टा नै तयारी अवस्थामा हुन्छन्। जतिबेला खबर आउँछ, दौडिनु परिहाल्छ। त्यसको कुनै ठेगान हुँदैन। तीव्र बहावमा बगिरहेको त्रिशूलीको पानीमा हेलिनु र डुबेर हराएका मानिस तथा सवारी साधन खोज्नु उनीहरूको दैनिकीजस्तो भइसकेको छ।  

सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारका गोताखोरको काम यस्तै छ। राजधानी काठमाडौँलाई जोड्ने पृथ्वी राजमार्ग भएर दिनहुँ हजारौँ सवारी साधन गुड्छन्। साँघुरो बाटो, घुम्ती र सडकको जीर्ण अवस्थाका कारण यो राजमार्गका साथै मुग्लिङ–नारायणगढ सडकमा दुर्घटना बाक्लै भइरहन्छ। चितवनको नारायणगढदेखि धादिङको गल्छीसम्म मुख्य राजमार्ग त्रिशूली नदीको किनारै किनारमा पर्छ। पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा खण्डछेउमा मस्र्याङ्दी नदी पर्छ। 

यी राजमार्गमा हुने दुर्घटनामा सवारी साधन नदीमा खस्ने, मानिसको मृत्यु हुने र पानीमा डुबेर हराउने घटना दिनप्रतिदिन बढिरहेको छ। त्यस्ता दुर्घटना हुँदा सबैभन्दा पहिला उद्धारका लागि पुग्ने टोलीमा पर्छन् सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारका सुरक्षाकर्मी र गोताखोर टोली। शिक्षालयमा नदीको पानीमा सवारी साधन र मानिस खोज्न तैनाथ १५ जनाको गोताखोर टोली छ। 

त्यही टोलीका एक हुन् सशस्त्र प्रहरी सहायक हवल्दार डिल्ली भट्टराई, जो १२ वर्षदेखि वर्षामा उर्लिंदो भेल र हिउँदमा कठ्यांग्रिँदो चिसो पानी बग्ने त्रिशूली नदीमा अनगिन्ती पटक पसेर उद्धारकार्य गरेका छन्। “कति पटक पानीमा पसियो लेखाजोखा नै छैन,” उनी सुनाउँछन्, “सयौँ पटक भयो होला। दुर्घटनाको खबर पाउनेबित्तिकै पुगिहाल्नुपर्छ।” 

२०६९ सालमा बांग्लादेशबाट गोताखोरको तालिम लिएर आएपछि उनी कुरिनटारमै कार्यरत छन्। हरेक महिनाजसो त्रिशूलीको पानीमा गाडी खस्ने घटना भई नै रहन्छ। त्यसमध्येको एउटा पुरानो घटना उनको सम्झनामा ताजै छ। 

२०७४ कात्तिक ११ गतेको कुरा हो। सप्तरीको राजविराजबाट काठमाडौँ आउँदै गरेको बस बिहान ५ बजेतिर धादिङको घाटबेसीबाट त्रिशूली नदीमा खस्यो। गोताखोर टोली सहितको सशस्त्र प्रहरी बलको जनशक्ति केही बेरमै दुर्घटनास्थल पुगेर उद्धारमा खटिएको थियो। नदीमा डुबेको बसबाट आफूले एक्लै ३२ जना मानिसको शव निकालेको भट्टराई बताउँछन्। 

गत असार २८ गते नारायणगढ–मुग्लिङ सडकको सिमलतालबाट दुई वटा बस त्रिशूलीमा खसेर बेपत्ता भएको घटना पछिल्लो समय निकै चर्चामा रह्यो। काठमाडौँबाट गौर जाँदै गरेको र वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बसलाई राजमार्गमाथिबाट खसेको भलपहिरोले एकैसाथ बगाएर त्रिशूलीमा पुर्‍यायो। दुवै बस र तिनका दर्जनौँ यात्रु महिना दिनसम्म खोज्दा पनि भेटिएनन्। 

त्यस दुर्घटनामा हराएका ६२ जनामध्ये २४ यात्रुको शव नदीले बगाएको अवस्थामा विभिन्न ठाउँमा फेला परेका थिए। दुई बससँगै कम्तीमा ३८ यात्रु फेलै पर्न सकेनन्। उक्त घटनापछि बाढी उर्लिएर तीव्र गतिमा बगेको त्रिशूली नदीमा पसेर बस र यात्रु खोजी गर्ने पहिलो टोलीमा सशस्त्र प्रहरीका गोताखोर नै थिए। 

सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारका गोताखर एवं सशस्त्र प्रहरी निरीक्षक (सई) रमेश थापाका अनुसार बस नदीमा खसेको सूचना आएको एक घण्टाभित्रै गोताखोर टोली घटनास्थलमा पुगिसकेको थियो। खसेको ठाउँ र त्यसभन्दा तल सशस्त्र प्रहरी, नेपाली सेना तथा भारतीय गोताखोरको टोलीले लगातार एक महिनासम्म खोजी गर्दा पनि बस नभेटिएपछि खोज्ने काम रोकियो। 

जटिल काम, स्रोतको अभाव  
तीव्र गतिले बग्ने नदीको पानीमा पस्नु आफैमा जोखिम काम हो। सशस्त्र प्रहरी नायब निरीक्षक (सई) रमेश थापाका अनुसार प्रतिघण्टा चार किलोमिटर भन्दा बढीको बेगमा बगिरहेको नदीमा पस्नु जोखिमपूर्ण हुन्छ। सिमलतालमा बस दुर्घटना भएको बेला त्रिशुली नदीमा पानीको बेग प्रतिघण्टा ५० देखि ६० किलोमिटर थियो। त्यति तीव्र बेगमा समेत नेपाली गोताखोरले सीमित स्रोत–साधनका बाबजुद पानीमा पसेर बसको खोजी गरेको थापा बताउँछन्।  

“ताल, पोखरी र समुद्रको पानीमा पसेर खोज्न सजिलो हुन्छ, तर बगिरहेको पानीमा पस्नु एकदमै जोखिम काम हो,” उनी भन्छन्, “हाम्रो तालिम पनि पोखरी, ताल र समुद्रका लागि थियो। तर हामीकहाँ नदीमा भएका दुर्घटनामा उद्धारको आवश्यकता पर्छ। त्यसकारण जोखिम मोलेर काम गर्नुको विकल्प छैन।” 

सई थापाका अनुसार पानीको तीव्र बहावमा नदीभित्र अडिएर खोजी गर्नु उत्तिकै कठिन काम हो। आफूहरूले बोकेका सामान नै पानीको बेगले हुत्याइदिने र त्यसलाई सम्हाल्न गाह्रो हुने उनी बताउँछन्। थापा भन्छन्, “ढुंगा र पानीको बहावले हानेर साथमा बोकेको अक्सिजन सिलिन्डर र उद्धारका उपकरण नै हुत्याइदिन्छ। एक हातले अडिएर होसियारीपूर्वक खोज्नुपर्छ।” 

सशस्त्र प्रहरीका गोताखोरहरूले बताएअनुसार बगेको पानीभित्र पसेर उद्धार गर्दा बाहिरका सहयोगीहरूसँग सञ्चार सम्पर्क गर्न पनि सकिन्न। स्थिर पानीमा भित्र बोलेको बाहिर र बाहिर बोलेको भित्र सुनिन्छ। तर तीव्र गतिले बगेको नदीमा यो सम्भव छैन। “नदीमा बगेको पानीभित्र उपकरणले काम गर्दैन, त्यसकारण गाह्रो हुन्छ,” सशस्त्र प्रहरी सहायक हवल्दार डिल्ली भट्टराई भन्छन्। 

अझ धमिलो पानीमा त भित्र केही पनि देखिन्न। रातमा जस्तै हो। नदी किनारमा सञ्चालन गरिएका ढुंगा, गिट्टी र बालुवा खानीका कारण त्रिशूलीको पानी बाह्रैमास धमिलो हुन्छ। त्यसकारण पानीभित्र प्रष्टसँग नदेखिनु गोताखोरहरूले भोगिरहेको अर्को समस्या हो। पानीभित्र पर्ने चापका कारण नसाहरू फुट्ने, कानको समस्या आउने लगायतका शारीरिक जोखिम पनि गोताखोरहरूले भोगिरहेको सई थापा बताउँछन्। 

“नेपालमा गोताखोरलाई भ्यालु नै दिइँदैन। पानीमा पस्ने त हुन् भनिन्छ,” उनी भन्छन्, “कामको प्रकृतिका हिसाबले पाइला पाइलामा जोखिम छ।” 

टिकाउनै मुस्किल 
सशस्त्र प्रहरीमा २०६९ सालदेखि गोताखोर छन्। २०६८ सालमा २५ जनालाई बांग्लादेश पठाएर गोताखोरको तालिम दिलाइएको थियो। उनीहरू नेपालमा फर्केर आएपछि उद्धारको काममा खटिन थाले। सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशी दाहालका अनुसार नेपालका नदीमा गाडी र मानिस खसेपछि उद्धारका लागि बांग्लादेशबाट गोताखोर बोलाउनुपर्ने अवस्था थियो। 

“आएका खोताखोर पनि बगेका नदीमा उद्धारकार्य गर्न गाह्रो मान्ने, पानीमै नपसी फर्केर जाने जस्ता समस्या देखिएपछि सशस्त्र प्रहरीले आफ्नै जनशक्ति किन उत्पादन नगर्ने भनेर तालिम दिन शुरू गरिएको हो,” उनी भन्छन्, “२५ जनाले बांग्लादेशबाट तालिम लिएर आएपछि यहीँ जनशक्ति उत्पादन गर्न थालियो।” 

सशस्त्र प्रहरीमा अहिले गोताखोरको संख्या ११० छ। यो जनशक्तिलाई पृथ्वी राजमार्गको कुरिनटार, नारायणगढ, सुनसरी, महोत्तरी, सिन्धुलीको खुर्कोट, काठमाडौँको सिनामंगल, बाँकेको शम्सेरगञ्ज, सुर्खेत र कैलालीको अत्तरियामा राखिएको छ। शुरूमा तालिम लिएका २५ मध्ये १५ जना मात्र यथावत् छन्। सशस्त्र प्रहरीमा बाहेक नेपाल प्रहरीमा एक र नेपाली सेनामा १० जना तालिमप्राप्त गोताखोर छन्। 

जीवन जोखिममा राखेर रातबिरात काम गर्नुपर्ने भए पनि त्यसरी खटिएका जनशक्तिलाई प्रोत्साहन नहुँदा टिकाउन गाह्रो भएको एआईजी दाहाल बताउँछन्। प्रचलित कानूनले बेपत्तालाई मृतक नमान्ने हुनाले खोज तथा उद्धार कार्यमा खटिएका गोताखोर बेपत्ता भएमा के गर्ने भन्ने अन्योल रहेको उनले बताए।  

“धमिलो र चिसो पानीमा पस्नुपर्छ। रातबिरात खट्नुपर्छ। विदेशीले काम नगर्ने अवस्थामा पनि हाम्रा गोताखोरले गरेका छन्,” उनी भन्छन् “यसरी जोखिमपूर्ण काम गर्नेलाई शान्ति मिसन लगायतमा अवसर दिएर जनशक्ति टिकाउने सक्दो प्रयास गरिरहेका छौँ।” 

सशस्त्र प्रहरीका गोताखोरलाई काममा खटिँदा सरकारले खाजाबापत प्रतिदिन ३०० रुपैयाँ भत्ता दिन्छ। त्यसमा १५ प्रतिशत आयकर कटाएर २५५ रुपैयाँ उनीहरूले पाउँछन्। त्यसका अतिरिक्त १० लाख रुपैयाँको बीमाबाहेक अरू सुविधा छैन।