विदेशी मुद्रा सञ्चिति २१ खर्ब पुग्यो

विदेशी विनिमय सञ्चिति १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।

काठमाडौँ– देशभित्र विदेशी मुद्राको सञ्चिति करिब २१ खर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार कुल विदेशी मुद्राको सञ्चिति २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ पुगेको हो। यो विवरण गत साउन मसान्तसम्मको हो।

गत असार मसान्तमा कुल विदेशी मुद्राको सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड बराबर थियो। त्यसमा २.५ प्रतिशतले वृद्धि भई २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ बराबर पुगेको हो। अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा गत साउन मसान्तसम्म आइपुग्दा दुई प्रतिशतले वृद्धि भई १५ अर्ब ५८ करोड बराबर पुगेको छ।

विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १८ खर्ब ८३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। बैंक तथा वित्तीय संस्थामा रहेको विदेशी मुद्राको सञ्चिति दुई खर्ब आठ अर्ब ७९ करोड रुपैयाँ छ।

चालु आर्थिक वर्षको पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको जनाइएको छ।