देशभर वर्षा, यी नदीमा छ बाढीको जोखिम

वर्षा आइतबारसम्म जारी रहने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। सोमबारदेखि भने मनसुनी प्रणाली कमजोर हुने जनाइएको छ।

काठमाडौँ– मनसुनी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। वर्षा आइतबारसम्म जारी रहने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

बाढी पूर्वानुमान महाशाखाले बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीको सूची सार्वजनिक गरेको छ। शुक्रबार नारायणी नदीमा उच्च जोखिम र शनिबार अति उच्च जोखिम रहने विभागको अनुमान छ।

यस्तै, कनकाई नदी ११ गते उच्च जोखिम हुने र अरु समयमा मध्यम जोखिम हुने जनाइएको छ। कमला नदी शुक्रबार उच्च र शनिबार मध्यम तथा बागमती नदी पँधेरा दोभानमा शुक्रबार उच्च जोखिम र शनिबार अति उच्च जोखिम रहेको छ।

पूर्वी राप्ती रजैयामा शुक्रबार मध्यम जोखिम रहेको छ भने शनिबार उच्च जोखिम रहेको विवरण सार्वजनिक गरेको छ। पश्चिम राप्ती कुसुममा शुक्रबार मध्यम जोखिम रहेको तर शनिबार भने अति उच्च जोखिम रहेको तथा बबई नदी शुक्रबार मध्यम जोखिम छ भने शनिबार अति उच्च जोखिम रहेको जनाइएको छ ।

यी उच्च र मध्यम जोखिम रहेका नदी तथा त्यसका सहायक नदीमा जलसतह खतराको तह आसपास र केही क्षेत्रमा खतराको तहसमेत पार गर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबारसम्म ती नदी तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध पनि गरिएको छ। सोमबारदेखि भने मनसुनी प्रणाली कमजोर हुने जनाइएको छ।

विपद् प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले नदी आसपासका बासिन्दा, डुबान हुने क्षेत्रका बासिन्दा र पहिरो खस्ने जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरेका छन्। 

विपद् पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्टको निर्णयअनुसार उच्च जोखिम रहेका ५६ जिल्लामा रात्रिकालीन बस नचलाउन आग्रह गरिएको पनि जानकारी दिए।