प्योलेस्टिनी राष्ट्रपतिद्वारा विश्वसामु इजरायललाई हतियार पठाउन रोक्न आह्वान

अमेरिकाले उपलब्ध गराएका घातक हतियार प्रयोग गरेर इजरायलले हजारौँ निर्दोष नागरिक, बालबालिका र महिलाको हत्या गरेको राष्ट्रपति अब्बासले बताएका छन्।

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले पश्चिम किनार र गाजामा रक्तपातको अन्त्यका लागि इजरायललाई हतियार पठाउन रोक्न आह्वान गरेका छन्। 

गाजामा मृत्यु हुनेको संख्या बढिरहे पनि वासिंटनले इजरायललाई त्यहाँको युद्धका लागि कूटनीतिक समर्थन र हतियार प्रदान गरिरहेको अब्बासले बताए। हमास नियन्त्रित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार हाल गाजामा मृत्यु हुनेको संख्या ४१ हजार ५३४ पुगेको छ। 

“यो अपराध रोक्नुहोस्, अहिले नै रोक्नुहोस्। बालबालिका र महिलाहरूको हत्या रोक्नुहोस्। नरसंहार रोक्नुहोस्। इजरायललाई हतियार पठाउन रोक्नुहोस्। यो पागलपन जारी रहन सक्तैन,” उनले सहासभामा भने, “गाजा र पश्चिम किनारमा हाम्रा मानिसमाथि भइरहेको कुराका लागि सम्पूर्ण विश्व जिम्मेबार छ।”

हमासको अक्टोबर ७ को इजरायलमाथिको आक्रमणबाट शुरू भएको युद्धका कारण घेराबन्दीमा परेका गाजापट्टीका २४ लाख मानिसमध्ये अधिकांश कम्तीमा एकपटक युद्धबाट विस्थापित भएका छन् र धेरैले विद्यालय भवनमा आश्रय लिएका छन् । 

“अमेरिकाले उपलब्ध गराएका घातक हतियार प्रयोग गरेर इजरायलले हजारौँ निर्दोष नागरिक, बालबालिका र महिलाको हत्या गर्‍यो,” उनले भने।

यसबाट इजरायललाई निरन्तर आक्रमणका लागि थप उत्साहित गरेको भन्दै उनले इजरायल संयुक्त राष्ट्रसंघमा रहन योग्य नरहेको पनि दाबी गरे।