कालीगण्डकी करीडोरः जोमसोम–कागबेनी खण्डमा कालोपत्र

जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो। यसका लागि २८ करोड १४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। 

म्याग्दी– कालीगण्डकी करीडोरअन्तर्गत मुस्ताङको जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटर सडक कालोपत्र भएको छ।  

जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो। यसका लागि २८ करोड १४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। 

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले कालोपत्रको काम पूरा भएको तथा सडक फर्निचरको काम अन्तिम चरणमा पुगेको बताए। कागबेनीदेखि कोरलातर्फ दुई किलोमिटर र एक्लेभट्टी देखि कागबेनी जोड्ने वैकल्पिक सडकको एक किलोमिटर क्षेत्रमा पनि कालोपत्र भएको छ।

करिडोरले जोमसोमदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको कोरला नाका जोड्छ। आठ खण्डमा विभाजन गरेर प्रारम्भ भएको ११० किलोमिटरमध्ये ७५ किलोमिटरमा सडक विस्तार र ग्राभेलको काम पूरा भएको छ। 

२५ किलोमिटर लामो चराङ–छोसेर खण्डमा ९२ प्रतिशत निर्माण सम्पन्न भएको छ। यो खण्डको स्तरोन्नति पूरा भएपछि जोमसोमदेखि कोरलासम्म ग्राभेल हुने आयोजना प्रमुख ध्रुवकुमार झाले बताए।