तोलामा ५०० रुपैयाँ बढ्यो सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो।

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लागिरहेको छ। शुक्रबार तोलामा ५०० रुपैयाँले वृद्धि हुँदा सुन हालसम्मकै महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो। महासंघका अनुसार बिहीबार तोलामा १ लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार १ लाख ६१ हजार २०० रुपैयाँ निर्धारण भएको छ।

चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन। महासंघले चाँदीको मूल्य तोलामा १ हजार ९५५ रुपैयाँ निर्धारण गरेको छ।