चाडपर्वलक्षित सुरक्षा योजना: काठमाडौँमा ३ हजार ७६५ प्रहरी परिचालन

काठमाडौँ प्रहरी परिसरका एसएसपी वसन्त रजौरेले प्रहरीले सुरक्षा दिनुपर्ने आवश्यक सबै स्थानमा सुरक्षा दिन प्रहरी तयार रहेको बताएका छन्।

काठमाडौँ– काठमाडौँ प्रहरीले दशैँ, तिहार र छठलगायत चाडपर्वका बेला खसी बजार, गहना पसल र टिकट काउन्टरमा गस्ती गर्ने भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार पत्रकार सम्मेलन गर्दै चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो। 

प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले चाडपर्वलक्षित सुरक्षाका क्षेत्र पहिचान गरेको उल्लेख गर्दै जनमानसमा सुरक्षाकर्मीको सहज पहुँच तथा सर्वसुलभताको वातावरण तयार गर्ने बताए। “सुरक्षाका क्षेत्रहरूमा स्थानीय बासिन्दा, आर्थिक कारोबार हुने स्थान, अन्य जिल्लाका लागि सवारी छुट्ने स्थान, व्यक्तिको खाली रहेको घर, सरकारी कार्यालय र भिडभाड हुने बजार रहेका छन्,” उनले भने। 

चाडपर्वमा लुटपाट, चोरीडकैती, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, आगजनी तथा विस्फोट र महँगो भाडा असुली, बजारमा वस्तुको कृत्रिम अभाव जस्ता अपराध हुनसक्ने प्रहरीको आंकलन छ । 

यस्ता आपराधिक घटना न्यूनीकरणका लागि उपत्यकामा तीन हजार ७६५ जना प्रहरी परिचालन गरिने रजौरेले बताए।