देशभर भारी वर्षा: बाढी, पहिरो र डुबानको जोखिम

पाँचथरस्थित तमोर नदी माझीटार र धनकुटास्थित तमोरकै मुलघाट बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

तीन दिनदेखिको अविरल वर्षाका कारण पानीले खतरा तह पार गरेको सुनसरीको इनरुवास्थित सुनसरी खोला। तस्वीर: रासस

काठमाडौँ– देशका अधिकांश स्थानमा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अविरल वर्षाका कारण नदी तथा खोलाहरूमा जलसतह बढेर खतराको तर पार गरेको छ। 

महाशाखाका अनुसार तमोर, अरुण, दूधकोशी, सुनकोशी, बागमती, नारायणी, तिनाउ र वाणगंगा तथा तिनका सहायक नदीमध्ये केहीले चेतावनीस्तर पार गरिसकेका र केही खतराको स्तर नजिक छन्। 

सुनकोशी र बागमती नदीमा जलसतह खतरास्तरभन्दा माथि रहेको तथा अरुण, दूधकोशी, नारायणी, तिनाउ र वाणगंगा सबैले पनि सतर्कताको ‘थ्रेसहोल्ड’ पार गरिसकेको महाशाखाले जनाएको छ। 

पाँचथरस्थित तमोर नदी माझीटार र धनकुटास्थित तमोरकै मुलघाट बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको, बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा शनिबार साँझसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। 

अहिले पनि ती सबै नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी २४ घण्टा थप भारी वर्षाको पूर्वानुमान गरिएको विभागले जनाएको छ।